काठमाडौं । एशियन होटलले आफ्नो व्यवसाय विस्तार गर्न सर्वसाधारणको समेत सहभागिता गर्नका लागि साधारण शेयर (आईपीओ) निष्काशनबाट ३५ लाख कित्ता शेयर जारी गरी जम्मा ३५ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ ।
पर्यटकीय नगरी भैरहवा लुम्बिनीमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एशियन होटलले पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना बनाएको हो ।
शेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।
यसै सन्दर्भमा, आयोजित एक औपचारिक कार्यक्रममा होटल एशियनको तर्फबाट अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
भैरहवा लुम्बिनीमा अवस्थित एक सांस्कृतिक धरोहरबाट प्रेरित आतिथ्य सेवामा आधारित बौद्ध धर्मावलम्बी र सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने यो होटल सन् २०२१ मा स्थापित भई स्थानीय आतिथ्य सेवाको उत्कृष्ट प्रतीक बनेको छ ।
भैरहवा नजिकै अवस्थित लुम्बिनी, युनेस्कोको विश्व सम्पदा स्थल हो । यो सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र बौद्ध धर्मावलम्बीहरूको लागि एक प्रमुख तीर्थस्थल रहेको छ ।
यस होटलले हाल ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्कोट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरु बाट आफ्नो व्यवसाय गर्दै आईरहेको छ ।
शेयर निष्काशन पश्चात् आफ्नो व्यवसाय विस्तार गर्नका लागि अरु मुख्य सहरहरु जस्तै पोखरा, काठमाण्डौ, चितवन मा आफ्नो सेवा बिस्तार गर्ने योजना रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
उक्त शाखा सेवाहरु थप गरे लगतै स्थानीय स्तरमा रोजगारी सिर्जना र लुम्बिनीको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा तथा दीगो विकास लक्ष्यहरुप्रति प्रतिबद्ध रहँदै व्यवसाय विस्तारमा अग्रसर रहने स्पष्ट रणनीति अघि सारेको छ ।
FACEBOOK COMMENTS