श्रावण ८ — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा एक मृत व्यक्तिसहित पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए ।
एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । वीरगन्ज माइस्थान निवासी ७० वर्षीय ती पुरुषको मंगलबार साँझ नै मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले जनाए । ‘कोरोनाको लक्षण रहेकाले उनको शव परिवारको जिम्मा लगाएका थिएनौँ,’ उनले भने, ‘बुधबार ती मृत व्यक्तिमा पनि कोरोना रहेको रिपोर्ट आएको छ ।’
१७ जना संक्रमितमध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक हुन् । सुख्खा बन्दरगाहका दुईजना स्टाफ, ट्रक चालक र एक निजी स्कुलका कक्षा १० का विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएको छ । बुधबार साँझ संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित १७ जनामध्ये ९ जना पैसा तिरेर(सेल्फ पेड) परीक्षण गराएका र अन्य चिकित्सक सिफारिसमा परीक्षणका लागि आएका थिए । अस्पतालमा उपचारार्थ भर्ना भएका ५ जनाको परीक्षण गरिएको हो । चिकित्सकका अनुसार भर्ना भएकाहरुमा कडा निमोनिया देखिएको छ । दुईजना यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएका हुन् । ‘४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,’ डा.उपाध्यायले भने, ‘संक्रमित १७ जनामध्ये कोही पनि क्वारेन्टाइनका हैनन् ।’
FACEBOOK COMMENTS