साउन ०८ – लगातारको अविरल वर्षाका कारण आएको भीषण बाढी/पहिरो बितण्डाले हिमालपारीको जिल्ला मुस्ताङ अन्धकार बनेको छ । सोमबारदेखि आएको लगातारको बाढीरपहिरोले म्याग्दी र मुस्ताङ खण्डको दर्जनौं स्थानमा गएको बाढी पहिरोले बेनी-जोमसोम सडकको निर्माणधिन सडक ,निर्माणधिन पुल विद्युत र संञ्चार संरचनालगायतमा करोडौंको क्षति पुर्याएपछि मुस्ताङ अन्धकार बनेको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङखण्डमा आएको बाढी-पहिरोले मुस्ताङ खण्डमा मात्रै ३ दर्जन बढी विद्युत पोलमा क्षति पुगेको जनाएको छ भने म्याग्दी खण्डमा पनि उक्तिकै पोल ढलेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले पर्वतको मिलनचोकबाट ल्याइएको केन्द्रीय विद्युत प्रशारण लाइन मुस्ताङ सप्लाइ गर्ने विद्युतीय मार्ग बाढी पहिरोले अवरुद्ध भएको बताए । उनका अनुसार म्याग्दीको तातोपानी विद्युत वितरण केन्द्रदेखि यता,म्याग्दी खण्डमा पनि दर्जनौ विद्युत पोल बाढीले बगाएको ,पुरिएको र ढलेका कारण गत सोमबारदेखि मुस्ताङमा विद्युत सेवा ठप्प हुन पुगेको हो ।
मुस्ताङको थासाङ गाउँपालिका -२ कोवाङमा नेपाल विद्युत प्राधिकरणको सवस्टेसन भएपनि बाढी/पहिरोले विद्युत पोल ढलेका कारण विद्युत प्रशारण लाइन अवरुद्ध भएको छ । मुस्ताङमा म्याग्दीको तातोपानी विद्युत वितरणकेन्द्रले विद्युत सम्पर्क गर्ने गरेकोमा केन्द्रीय विद्युत प्रशारणको संरचना निर्माण गर्न हप्तौ लाग्ने देखिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका -१ चोखोपानी जलविद्युत केन्द्रको झिनो विद्युत उत्पादन भएपनि यसले मुस्ताङलाई २४ घण्टामा २ घण्टासम्म पनि विद्युत थेग्न नसक्ने अवस्था छ । चोखोपानीको २ सय ४० किलोवाट विद्युत उत्पादन क्षमता भएपनि त्यहाँको एक मात्र उपकरणले जेनतेन १ सय २५ किलोवाट मात्र विद्युत उत्पादन गर्ने गरेको छ ।
पछिल्लो समय जिल्लाका ५ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा विद्युत विस्तार भएकाले विद्युत आपूर्तिको चरम समस्या देखिएको निलगिरी उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । उनका अनुसार मुस्ताङमा २४ सै घण्टा विद्युत सेवा नियमित गर्न केन्द्रीय प्रशारण लाइनकै भरपर्नुपर्ने बाध्यता रहेको हो । मुस्ताङमा ३ वर्षअघि निर्माण सम्पन्न भइ संञ्चालनमा रहेको १३ दशमलव ६ मेगावार्ड क्षमताको थापाखोला हाइड्रो पावरको विद्युत उत्पादन पनि यतिबेला पूर्णरुपमा ठप्प भएको छ ।
नेपाल विद्युत प्राधिकरणलाई विद्युत विक्री गरिसकेको थापाखोला हाइड्रोले बाढी-पहिरोले केन्द्रीय विद्युत प्रशारण लाइन अवरुद्ध भएसँगै आफ्नो उत्पादन रोकेको थापाखोला हाइड्रोका प्रतिनिधि सुदिप खड्काले जानकारी दिए ।
FACEBOOK COMMENTS