पिटिएका अर्का युवा भन्छन्– ‘पानीमा सुताएर लट्ठी र लात्ताले हान्यो , हिँडाउँदै लिएर गयो। बाटोमा जत्रो जत्रो मुढा भेटिन्छ, त्यो पनि बोक् भन्यो। खोला छाडेर पाखामा उत्रेपछि सुत् भन्यो। त्यहाँ पनि फेरि डँडाल्नोमा लट्ठीले हान्यो। त्यसमाथि सय–सयचोटि उत्तानो र घोप्टो पुसअप गर्न लगायो।
श्रावण ९ — चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।
राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो । ‘छुटेर आएदेखि नै सन्चो भएन भन्न थाल्यो, मैले गाउँकै मेडिकलहरूमा उपचार गराइरहेको थिएँ,’ विष्णुलालले भने, ‘हिजो ९बुधबार० त अति नै आत्तियो, त्यसपछि भरतपुर अस्पताल ल्याएको थिएँ ।’ अस्पतालमै छोराको मृत्यु भएपछि विष्णुलाल अहिले विक्षिप्तजस्तै भएका छन् ।
राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताए । सेनाले नियन्त्रणमा लिएकामा दुई जना महिला पनि थिए । उनका अनुसार महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने सजाय सेनाले दिएको थियो । ती युवा गाउँ नजिकैको राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा पुगेका थिए ।
निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा सैनिकले उनीहरूलाई समातेको थियो । सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकारे पनि कुटपिट नगरेको दाबी गरेको छ । ‘निकुञ्जकै एरियामा आएपछि समाएर निकुञ्ज प्रशासनलाई जिम्मा लगाएको हो, कुटपिट भएकै छैन,’ निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले भने, ‘उहाँहरूले यतिका दिनपछि किन यस्तो आरोप लगाउनुभएको हो, थाहा भएन १’
मृतकका परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पीडितको मागअनुसार शवको पोस्टमार्टम गर्ने जनाएको छ । ‘कुटपिट भएको छैन, त्यो पोस्टमार्टम रिपोर्टले नै बताउला,’ गणपति श्रेष्ठले भने, ‘हामीलाई लगाएको आरोप निराधार हो, महिनामा चार सय जना मान्छे समाएका छौं तर कसैलाई कहिल्यै कुटपिट हुने गरेको छैन ।’
पानीमा सुताएर लट्ठीले र लात्ताले हान्यो ; सन्तलाल प्रजा चेपाङ
म सहित त्यस दिन हामी सात जना थियौं । दुई महिला थिए, पाँच जना केटाहरु थियौं । हामी ब्लक फ्याक्ट्रीमा काम गर्छौं । साउन १ गते छुट्टीको दिन थियो, काम भएन । साथी मिलेर जाऔं न त निउरो, अमिलो केही भेटिन्छ कि भनेर गएका हौं । हामी खोलैखोला गइरहेका थियौं, हामीलाई थाहा थिएन, पछ्याउँदै आएको रहेछ । खोलामा एकसुरले हातले छाम्दै घोंगी समात्न थाल्यौं ।
राप्ती तरेर पारिपट्टि ज्युँडी भन्ने खोलामा पुगेपछि एक्कासि एउटा आर्मी देख्यौं । उनले ‘ओ यहाँ आइज’ भने । कुनै सोधपुछ छैन । खुट्टामा लगाउने बुट हातमा लिइराखेको थियो । त्यसैले ड्याम्म हान्यो । पानीभित्र लौरो थियो, त्यसले मलाई गर्धनमा हान्यो । म पानीमै भक्लक्क ढलें । बोल्न त के–के बोल्यो बोल्यो । नराम्रो शब्द पनि भन्यो । अनि पानीमा सुताएर लट्ठीले र लात्ताले हान्यो । पानीमै हिँडाउँदै लिएर गयो । खोला छाडेर पाखामा उत्रेपछि त्यहाा सुत् भन्यो । त्यहाँ पनि फेरि दुई–तीनचोटि हान्यो । डँडाल्नोमा लट्ठीले हान्यो । बाटोमा जत्रोजत्रो मुढा भेटिन्छ, त्यो पनि बोक् भन्ने । एक्लैले बोक् भन्ने, नराम्रो शब्द भन्ने । त्यसमाथि सय–सयचोटि उत्तानो र घोप्टो पुसअप गर्न लगायो । यसो गरी–गरी चौकीमा पुर्यायो । लिगलिगे पोस्टमा लग्यो । त्यहाँ प्रशासनले सोधिराथ्यो । प्रशासनका मान्छेले यसरी पिट्न त नहुने हो, जे–जस्तो भए पनि कारबाही त गरिन्थ्यो, पिट्न नहुने हो भनिराखेका थिए । अब पिटाइ खाइसक्यो । अनि हजार–हजार रूपैयाँ जरिवाना तिर्नुपर्छ भन्न थाले हामीलाई । हामीसँग पैसा छैन, कहाँबाट तिर्नु भन्यौं ।
हाम्रो ग्रुपमा अलि पातलो त्यही राजकुमार थियो । उसलाई बढी चोट पर्यो । लातले हान्ने, पानीभित्रै लात र लट्ठी–लट्ठीले हान्या छ । त्यसरी हानेपछि ऊ त पातलो मान्छे, मार त बढी पर्यो होला नि, हामीलाई पिट्दा एक जना मात्रै थियो । पछि फोन गरेर अरु पनि बोलायो । प्रशासनको पनि आयो । ६ जना भए उनीहरु । पिट्न त एक्लै पिटेको हो । महिलाहरुलाई मुख छाडे पनि हातपातचाहिँ गरेन । पछि हामीलाई साँझपख छाड्यो । त्यही पिटाइको असरले मैले त औषधि खाइरहेको छु । राजकुमार पातलो मान्छेलाई झन् के–के भयो–भयो ।
– कान्तिपुर दैनिक
FACEBOOK COMMENTS