वीरगन्जका तीन अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
श्रावण १२ — गत असार ३१ मा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा पर्साका दुई जना संक्रमित मात्र थिए । पालिकाहरूका क्वारेन्टाइन पनि खाली हुने क्रममा थिए । असार अन्त्यसँगै जिल्ला कोरोनामुक्त हुनेमा सरकारी अधिकारीहरू आशावादी थिए ।
तर, पछिल्ला १० दिनमा जिल्लामा उल्टै ८५ जना संक्रमित थपिएका छन् । सरकारले आफैं पैसा तिरेर पीसीआर परीक्षण गराउन सक्ने नियम ल्याएपछि पर्सामा संक्रमितको संख्या बढ्न थालेको हो । चार दिनयता वीरगन्जमा तीन संक्रमितको मृत्यु भइसकेको छ । कोरोना अस्पतालमा भर्ना भएका चार संक्रमित आईसीयूमा उपचाररत छन् । विभिन्न पेसा व्यवसायका व्यक्तिसँगै पाँच जना थुनुवा र वीरगन्जका दुई जना चिकित्सकसमेत संक्रमित भएका छन् । कुनै ट्राभल हिस्ट्री नभएका विभिन्न व्यक्तिमा संक्रमण देखिन थालेपछि वीरगन्जमा त्रास फैलिएको छ । वीरगन्जसँग सीमा जोडिएको भारतको रक्सौल आसपासका क्षेत्रमा पनि संक्रमण व्यापक छ ।
साउन ७ बाट सरकारले लकडाउन खोले पनि भारतसँगको तोकिएको नाकाबाहेक आवागमन बन्द नै राख्ने निर्णय गरेको थियो । तर, लुकीछिपी भारतीय कामदार भित्र्याएर यहाँका उद्योगले काममा लगाएको पाइएको छ । उनीहरूबाटै वीरगन्ज र आसपासका क्षेत्रमा संक्रमण फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
‘तोकिएका नाकाबाट भित्रिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणमा नेगेटिभ आए मात्र घर जान दिइएको थियो, उनीहरूबाट कोरोना फैलिएको हैन,’ उनले भने, ‘लुकीछिपी भित्रिएकाबाट फैलिएको दखिन्छ ।’
चैतमा लकडाउन हुँदा घर फर्केका भारतीय कामदार लकडाउन खुकुलो भएसँगै बारा–पर्सा करिडोरका उद्योग सञ्चालन भएपछि फर्किएका हुन् । ‘एउटा सिमेन्ट उद्योगमा एक सय ६० जना भारतीय कामदारलाई लुकाएर ल्याइएको छ,’ सहायक प्रजिअ बस्नेतले भने, ‘भारतीय कामदार भएको त्यस्ता उद्योगलाई सिल गरेर उद्योगीकै खर्चबाट उनीहरूको पीसीआर परीक्षण गरिने छ ।’ निषेधाज्ञा अघिसम्म वीरगन्ज बजारमा पसल हुने भारतीय पनि बिहान रक्सौलबाट आएर दिनभरि पसल चलाउने र साँझ घर फर्किने गरेका थिए । ‘यहाँका दुई दर्जनभन्दा बढी ट्रान्सपोर्टमा रक्सौल र आसपासका भारतीय कामदार कार्यरत छन्,’ ट्रान्सपोर्ट व्यवसायी किरण कटवालले भने, ‘निषेधाज्ञा लाग्नु एक दिन अगाडिसम्म उनीहरू बिहान ट्रान्सपोर्टमा काम गरेर साँझ फर्किने गरेका थिए ।’ गत साउन ७ मा सुक्खा बन्दरगाहमा कार्यरत दुई जना कर्मचारी र एक ट्रक चालकमा कोरोना पुष्टि भएको थियो ।
यसैबीच स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा कोरोना देखिएपछि वीरगन्जका तीन अस्पतालले शनिबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन् । वीरगन्ज हेल्थ केयर र एड्भान्स मेडिकेयरका उपचाररत बिरामीमा कोरोना पाइएको थियो । नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा पनि संक्रमण देखिएपछि आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुरेन्द्रप्रसाद चौधरीले बताए । वीरगन्जमा शनिबारदेखि निषेधाज्ञा लागू गरिएको छ ।
FACEBOOK COMMENTS