काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेन्जी आन्दोलनका कारण बीमा कम्पनीहरुमा प्राप्त बीमा दाबीको प्रारम्भीक विवरण दोस्रो पटक सार्वजनिक गरेको छ ।
सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बीमा दाबी रकम २२ अर्ब २५ करोड ६५ लाख पुगेको छ । प्राधिकरणले असोज ५ गते सार्वजनिक गरेको विवरण अनुसार हालसम्म जम्मा २ हजार ४ सय ७८ बीमा दाबी परेको छ । जसमध्ये सबै भन्दा धेरै दि ओरियेन्टल इन्स्योरेन्स कम्पनीमा बीमा दाबी परेको छ । उक्त कम्पनीमा ५ अर्ब २२ करोड ९८ लाख बीमा दाबी परेको हो तर दाबी सङ्ख्या भने ७३ मात्र रहेको छ ।
सबै भन्दा कम नेपाल माइक्रो इन्स्योरेन्समा ४१ लाख ५० हजारको दाबी परेको छ, दाबी सङ्ख्या भने १७ रहेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा देशभरीबाट २७९ वटा दाबी बापत पाँच अर्ब ८ करोड २८ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।
त्यसैगरि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा कुल १७० वटा दाबी बापत दुई अर्ब ७३ करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रारम्भिक विवरणले देखाएको छ । शिखर इन्स्योरेन्समा ३७४ वटा दाबी परेको छ जस अन्तर्गत दुई अर्ब ३९ करोड ३३ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ वटा दाबी बापत एक अर्ब ५४ करोड ५६ लाख रुपैया रहेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा २११ वटा दाबी बापत एक अर्ब ११ करोड ८३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।
प्राधिकरणका अनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १४२ वटा दाबी बापत ८१ करोड सात लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबी बापत ४८ करोड ५१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ८३ वटा दाबी बापत ४७ करोड नौ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्समा १७४ वटा दाबी बापत ४५ करोड ७२ लाख रुपैयाँको कुल बीमा दाबी परेको विवरणमा उल्लेख छ ।
राष्ट्रिय बीमा कम्पनीमा १६४ वटा दाबी बापत ४० करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योेरेन्समा १०२ वटा दाबी बापत २० करोड ३६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा २० वटा दाबी बापत ६ करोड ८४ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ ।
साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दाबी बापत एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा नौ वटा दाबी बापत ७२ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्समा नौ वटा दाबी बापत ४४ लाख रुपैयाँ दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणले जेन–जी आन्दोलनका क्रममा भएका क्षतिलाई न्यनिकरण गर्नका लागि राहत दिन छरितो दाबी भुक्तानी प्रक्रियाका लागि सहजिकरण गरेको छ । प्राधिकरणले सक्दो चाँडो विवरण संकलन गरी बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कम्पनीहरुले विवरण संकलन गर्ने कार्यलाई तिब्र रुपमा निरन्तरता दिएका छन् । अझै दशैभरिबाट विवरण आउन बाँकी रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS