काठमाडौँ । आज विश्व मुटु दिवस मनाइदैछ । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन सुरु भएको हो ।
विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा ‘डन् मिस अ बिट (एक कदम पनि नछुटाऔं) भन्ने छ ।
मुटुरोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने । त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउनुपर्ने हुन्छ ।
मुटुरोगबाट बच्चको लागि अध्याधिक मासु र मादक पदार्थ सेवन गर्न नहुने चिकित्सकहरुको सुझाव छ । जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिएमा मुटुरोगबाट बच्न सकिने विज्ञहरुको भनाई छ ।
खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्नुपर्ने उनीहरुको सुझाव छ । मुटुरोगको उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।
रक्तचाप, मधुमेह, कोलस्टोरलाई नियन्त्रणमा राख्नुपर्ने तथा दिनहुँ व्यायाम गरेमा मुटुरोगबाट बच्न सकिन्छ । मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि एक करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका हुने गरेका छन् ।
FACEBOOK COMMENTS