काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको आत्मकथा , ’आई एम जर्जिया– माई रुट्स, माई प्रिन्सिपल्स’ को भारतीय संस्करणको प्रस्तावना लेखेका छन् ।
यो पुस्तक चाँडै नै रूपा पब्लिकेशन्सद्वारा भारतमा विमोचन गरिने भएको छ । मोदीले मेलोनीलाई ’देशभक्त र एक उल्लेखनीय समकालीन नेता’ भनेर प्रशंसा गरेका छन् भने उनको व्यक्तिगत र राजनीतिक यात्रालाई भारतका जनताका लागि प्रेरणादायी भनेर वर्णन गरेका छन् ।
आफ्नो रेडियो कार्यक्रम ’मन की बात’ लाई उल्लेख गर्दै मोदीले पुस्तकलाई मेलोनीको ’मन की बात’ भनेर वर्णन गरेका छन् । मोदीले पुस्तकको प्रस्तावना लेख्नु उनको लागि ’ठूलो सम्मान’ भएको र उनले मेलोनीको लागि ’सम्मान, प्रशंसा र मित्रता’ को भावनाका साथ त्यसो गरेको लेखेका छन् ।
आफ्नो प्रस्तावनामा, मोदीले आफ्नो ११ वर्षको कार्यकालमा विभिन्न विश्व नेताहरूसँग अन्तक्र्रिया गर्दाका आफ्ना अनुभवहरू साझा गरेका छन् । उनले मेलोनीको जीवनले स्थिरता र आफ्नो जरासँग जोडिएको रहनुको महत्त्व प्रदर्शन गर्ने बताए ।
मूल रूपमा इटालीमा प्रकाशित, यो आत्मकथा मेलोनीको व्यक्तिगत र राजनीतिक जीवनको स्पष्ट विवरण हो । यसमा, उनले आफ्नो बाल्यकाल, रोमको गार्बाटेला छिमेक, उनकी आमा अन्ना, बहिनी एरियाना, र हजुरबा हजुरआमा मारिया र जियानीको वर्णन गरेकी छन् ।
उनले आफ्नो बुबा गुमाउनुको पीडा पनि वर्णन गरेकी छन् । पुस्तकले उनको किशोरावस्थामा सुरु भएको राजनीतिमा रुचि, मन्त्री पदसम्मको यात्रा, फ्राटेली डी’इटालिया र युरोपेली कन्जरभेटिभहरूको नेतृत्व र इटालीको सर्वोच्च राजनीतिक पदमा उनको अन्तत: उदयको बारेमा पनि वर्णन गरेकी छन् ।
पुस्तकमा, मेलोनीले आफ्ना पूर्व पति एन्ड्रिया जियाम्ब्रुनो र छोरी जिनेभ्रासँगको सम्बन्ध, मातृत्व, विश्वास, पहिचान र इटालीको लागि उनको दृष्टिकोणको बारेमा पनि लेखेकी छन् । उनले आफ्ना चुनौतीहरू र आकांक्षाहरू प्रत्यक्ष रूपमा साझा गरेकी छन् ।
मेलोनीको आत्मकथा पहिलो पटक २०२१ मा रिजोली प्रकाशनद्वारा इटालीमा प्रकाशित भएको थियो । यसको इटालियन संस्करण ’आयो सोनो जियोर्जिया’ को रूपमा प्रकाशित भएको थियो ।
२०२५ मा यसको अंग्रेजी अनुवाद प्रकाशित भयो । यस संस्करणमा डोनाल्ड ट्रम्प जूनियरको प्रस्तावना छ । यो पुस्तक जर्मन र स्पेनिश भाषामा पनि उपलब्ध छ ।
FACEBOOK COMMENTS