काठमाडौँ । नेपालमा मनसुन बाहिरन केही सयम लाग्ने भएको छ । गएको जेठ १५ गते नेपाल भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने मौसमविदहरुले बताएका छन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् हिजो बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए ।
मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको उनले जानकारी दिए ।
वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमश: सुधार हँदै जाने बताए । “त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ”, उनले भने ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएकोमा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो ।
हिन्द महासागरबाट बंगालको खाडीको बाटो भएर दक्षिण(पूर्वी दिशाबाट प्रवेश गर्ने जलवाष्प बोकेको वायुले नेपालमा मनसुनी वर्षा गराउँछ।
गर्मी याममा जमीनको सतह तात्दै जाँदा हलुका भएको वायु माथि माथि उड्न थाल्छ। जमीनको सतहको वायुको चाप पूरा गर्न दक्षिण(पश्चिम समुद्रमाथि रहेको आर्द्रता सहितको वायु भारतीय उपमहाद्वीपतिर सोहोरिन्छ।
यसैका कारण जूनको दोस्रो सातादेखि अक्टोबरसम्मै नेपालमा पानी पर्छ। नेपालमा वर्षभरि पर्ने पानीको करीब ८० प्रतिशत त यही अवधिमा पर्छ।
बंगालको खाडीको वायुको आगमन रोकिंदै गर्दा पश्चिमी वायुको प्रभाव बढ्न थालेपछि नेपालमा मनसुन सकिन्छ। पूर्वी नेपालबाट भित्रिने मनसुनी वायु पश्चिमी नेपालबाट बाहिरिने गरेको छ ।
FACEBOOK COMMENTS