काठमाडौं । इम्बार्क अनम्याथले दोस्रो संकरणको ‘ग्लोबल म्याथ डिबेट लिग’ आयोजना गर्ने भएको छ ।
गणितलाई संगीत, कला, वास्तुकला र खेलकुदसँग जोड्दै गणित केवल एउटा विषय मात्र नभई दैनिक जीवनको अभिन्न हिस्सा पनि बन्छ भनेर विद्यार्थीलाई महसुस गराउने उदेश्यले यस प्रतियोगिताको आयोजना हुन लागेको हो ।
ग्लोबल म्याथ डिबेटमा भाग लिनका लागि इम्बार्क अनम्याथले आवेदन खुलाईसकेको छ । इच्छुक विद्यार्थीहरुले मंसिर २४ (डिसेम्बर १०) सम्ममा आवेदन दिन सक्नेछन् ।
डिबेटलाई अल्फा र बिटा गरि दुई वटा ग्रुपमा विभाजन गरिएको छ । अल्फा ग्रुपमा कक्षा पाँच र ६ का विद्यार्थीले भाग दिन पाउनेछन् भने बिटा ग्रुपमा कक्षा सात र आठका विद्यार्थीले भाग लिन पाउनेछन् ।
यस डिबेटमा देशभरिका विद्यार्थीले भाग लिन सक्नेछन् । यसमा विद्यार्थीहरूले गणितीय तर्कको शक्ति प्रदर्शन गर्दै बहसको माध्यमबाट प्रतिस्पर्धा गर्ने इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले बताए ।
उनले भने, यस कार्यक्रमले विद्यार्थीहरूको तर्क गर्ने क्षमता वृद्धि गर्न सहयोग गर्नेछ । सार्वजनिक रुपमा बोल्ने सीपको विकास, र गणितको वास्तविक जीवनमा कति महत्वपूर्ण भूमिका रहेको छ भन्ने कुरा अझ गहिरो गरी बुझ्न सहयोग गर्नेछ ।
प्रतियोगिता तीन चरणमा सम्पन्न हुने पनि सह–संस्थापक बठिजाले जानकारी गराए । प्रतियोगितामा स्क्रीनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय राउन्ड, हुनेछ । जसले विद्यार्थीहरूमा सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचको विकासमा मद्दत पुर्याउने विस्वास गरिएको छ ।
ग्लोबल म्याथ डिबेट लिग अब नेपालमा पनि गणितको शिक्षा नयाँ तरिकामा पुर्याउँदैछ । यसले गणितलाई केवल संख्याहरू र समीकरणहरूको अध्ययनका रूपमा नपारी, यसलाई विचार, तर्क र संवादको भाषा बनाउने संस्थाले दाबी गरेको छ ।
सन् २०१२ मा स्थापित अनम्याथ स्कुल एउटा अग्रणी शैक्षिक संस्था हो जसले विद्यालयहरूमा गणित सिकाउने तरिकालाई नयाँ रूप दिइरहेको छ। एम्बार्क अनम्याथ विश्वव्यापी मिशनको विस्तार पनि हो । यस मिशन मार्फत ग्लोबल म्याथ डिबेट लिग, म्याथ म्याराथन, र स्पेस म्याथ जस्ता कार्यक्रमहरू सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र परिवर्तनकारी बनाउँछ।
गणित अध्ययन गर्दा विद्यार्थीले बोझ महसुस गर्नु हुदैन भन्ने एम्बार्क अनम्याथको मुख्य उदेश्य हो । ‘ग्लोबल म्याथ डिबेट लिग’को पहिलो संकरणमा १५ हजार भन्दा बढी विद्यार्थी सहभागि भएका थिए । यो वर्ष अझ धेरै विद्यार्थी जोडिने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS