काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निर्यातमा नगद अनुदानको व्यवस्था पुन: सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
महासंघले नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्ने भन्दै निर्यातमा नगद अनुदानको व्यवस्था पुन: सुचारु गर्न आग्रह गरेको हो ।
नेपालको वैदेशिक व्यापारमा निर्यातको स्थिति अति कमजोर भई व्यापार घाटा दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ देखि स्वदेशी मूल्य अभिवृद्धि भएका वस्तुहरूको निर्यातलाई प्रोत्साहन दिन नगद अनुदानको व्यवस्था सुरू गरेको थियो ।
उद्योग विभागले गत बिहीबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी पछि व्यवसायी अन्यौलमा छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन भन्दै विभागले आर्थिक वर्ष २०८१/८२ को स्वघोषणाको विवरण उद्योग विभागमा दर्ता नगर्न पनि सबै सरोवारवालाहरूलाई आग्रह गरेको थियो ।
व्यापार घाटा न्यूनिकरण र विदेशी मुद्रा आर्जन मुख्य उद्देश्यले सुरू गरिएको उक्त नगद अनुदानले नेपालको निर्यात व्यापारमा थोरै भएपनि राहतको महसुस भई निर्यात वृद्धिमा सहयोग पुगिरहेको सम्बद्ध व्यवसायीहरूको धारणा छ ।
आर्थिक वर्ष २०६८/६९ मा कुल निर्यात ७४ अर्ब रुपैयाँ रहेकोमा आ.व. २०८१/८२ मा यो बढेर २ खर्ब ७७ अर्ब पुगेको छ । सोही आवमा देशको व्यापार घाटा वार्षिक १५ खर्ब २७ अर्ब रहेको छ र निर्यात–आयात अनुपात १:६.५ रहेको छ । साथै चालु आर्थि वर्षको प्रथम दुई महिनाको व्यापार घाटा २ खर्ब ५७ अर्ब रुपैयाँ र निर्यात–आयात अनुपात १:१०.५ रहेको छ ।
यो तथ्याङ्कले नेपालको निर्यात अवस्था सन्तोषजनक नभएको र निर्यातमा नगद अनुदानको व्यवस्था रोक्दा थप असर पर्ने महासंघको धारणा छ । छिमेकी मुलुकको तुलनामा नेपालको ढुवानी खर्च मात्रै २५ देखि ३० प्रतिशतसम्म महङ्गो रहेको विभिन्न अध्ययनहरूले देखाइरहेको सन्दर्भमा ले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नगद अनुदानको आवश्यकता कायमै रहेको छ ।
त्यसकारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनका लागि साविक बमोजिम नगद अनुदान सुचारु गर्न महासंघले अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस्–
उद्योगी–व्यवसायी आर्थिक दबाबमा छन्, असोजमा कर तथा राजस्व बुझाउन सक्दैनन् : एनसीआईसीके
FACEBOOK COMMENTS