काठमाडौं । आर्थिक वर्ष २०८२– ८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२–८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा रेमिटेन्स ३३.१ प्रतिशतले बढेर ३५२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
२०८२ भदौ महिनाको विप्रेषण आप्रवाह १७४ अर्ब ६७ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२७ अर्ब ९९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको राष्ट्र बैंक रिपोर्टमा उल्लेख छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३८४ अर्ब ८८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८७ अर्ब ७६ करोड रहेको थियो ।
त्यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमश: ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको राष्ट्र बैंक रिपोर्टमा उल्लेख छ ।
FACEBOOK COMMENTS