काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न १३ निर्णय गरेको छ ।
आजको बैठकमा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित उनी पक्षधर तथा महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाहीसहित उनीहरु पक्षका बैठकमा सहभागी भएका छैनन् ।
राप्रपाले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई एकबर्षसम्म निलम्बन गरेको छ ।
बैठकले अनुशासन समितिको सिफारिसमा निलम्बनको निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
अध्यक्ष शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको छ ।
राप्रपाले पार्टीका स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशन मङ्सिर मसान्तसम्म गर्ने गरि म्याद थप गरेको छ भने केन्द्रीय समितिको बैठक कार्तिक २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ ।
बैठकले गरेका विभिन्न १३ निर्णयहरु:
१– देश गम्भीर ढङ्गबाट भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको, अनिर्णयको बन्दी बन्दै गएको, नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट गुम्दै गएको वर्तमान सन्दर्भमा राजनीतिक र व्यक्तिगत आग्रह पूर्वाग्रह भन्दा देशलाई केन्द्रमा राखेर सबै राजनीतिक शक्तिहरूका बीचमा वृहद राष्ट्रिय सहमति आजको आवश्यकता हो । अहिलेको आन्दोलनको मुख्य पक्ष जेन्जी समूह,विभिन्न राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नविन समझदारी गरेर कसैले नहार्ने सबैले जित्ने, देशले जित्ने राष्ट्रिय सहमति गरेर जानु आजको राष्ट्रिय आवश्यकता हो भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर रहेको छ । तत्काल सार्थक पहल र संवादका लागि सबै शक्तिलाई राप्रपा हार्दिक आहवान गर्दछ ।
२– राप्रपाले परिवर्तित सन्दर्भमा पार्टीको मुद्दाहरु र राजनीतिक विकल्पहरुमा राजनीतिक दलहरु र विभिन्न पक्षसंग औपचारिक सम्वाद गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिइएको छ ।
३– वर्तमान राजनीतिक अन्यौलको सन्दर्भमा विध्यमान संविधान र निर्वाचन प्रणालीबाट हुने निर्वाचन समस्याको दीर्घकालीन समाधान होइन भन्ने राप्रपाको ठहर छ । यद्यपि प्रजातान्त्रिक प्रक्रियाबाट राप्रपा अलग नरहने निर्णय गर्दछ ।
४– परिवर्तित सन्दर्भमा राप्रपाको विचार नीति, आसन्न निर्वाचन लगायतका विषयमा आम जनतासंग प्रत्यक्ष साक्षात्कार गर्न छठ पर्व पछि देशभर जनसम्वाद कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको छ ।
५– केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २७ र २८ गते काठमाडौंमा गर्ने तथा केन्द्रीय कार्यसमितिको बैठकले आगामी केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ ।
६– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र चाडवाडका कारण प्रभावित बन्न पुगेको राप्रपाको स्थानीय तह, प्रदेश र जिल्ला कार्य समितिको अधिवेशन २०८२ मंसिर मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय गरिएको छ ।
७– जेनजी आन्दोलन पश्चात् जेनजीका नामबाट भैरहेको जवर्जस्ती चन्दा असुली, भोटेकोशी जलविद्युत आयोजना लगायतका जलविद्युत आयोजनामा नि:शुल्क शेयर माग, सार्वजनिक पदाधिकारीहरुलाई दिएको अनावश्यक दवाव जस्ता कार्यले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको खस्किएको मनोवललाई अझै त्रसित बनाउने देखिन्छ । जेनजी पुस्ताले यस्तो क्रियाकलाप गर्दैन भन्ने राप्रपाको विश्वास छ ।
तसर्थ, यस्ता गैरकानुनी क्रियाकलापमा नलाग्न सम्पूर्ण जेनजीहरुलाई आव्हान गर्ने र यस्ता कार्यको नियन्त्रण गरी सुरक्षित लगानीको वातावरण कायम गर्न र सार्वजनिक सेवालाई चुस्त, पारदर्शी र भरोसायोग्य बनाउन सरकारको ध्यानाकर्षण गराईएको छ ।
८– देशले लामो समयदेखि शिथिल अर्थतन्त्रको सामना गरिरहेको बेला हालैको आन्दोलनमा समेत खबौँको क्षति हुन पुगेको छ । कैयन् भौतिक संरचनाहरु नष्ट हुन पुगेका छन् भने कैयनले रोजगारी गुमाएका छन् । शिथिल अर्थतन्त्र उकास्ने कार्ययोजना ल्याउन, सुरक्षित लगानीको वातावरण बनाउन एवं व्यवसायी र व्यवसायिक प्रतिष्ठानलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै ’सुरक्षा थ्रेट’ को त्रासदीबाट मुक्त गर्न राप्रपा सरकारसँग माग गर्दछ ।
९– राप्रपाको केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम राप्रपा जिल्ला कार्य समिति जुम्लाका अध्यक्ष वेद बहादुर शाही, उपाध्यक्षद्वय बिमल शाही, काली बहादुर महत र कर्णाली प्रदेश सदस्य मनसुर सुनारलाई पार्टीको विधान बमोजिम एक वर्षको लागि निलम्बन गर्ने निर्णय गरिएको छ ।
१०– हालैको बाढी पहिरोबाट इलाम लगायत देशका विभिन्न क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति राप्रपा दु:ख व्यक्त गर्दछ। बाढी पहिरोबाट ज्यान गुमाउन पुगेका परिवारलाई उचित राहत एवं सहज जीवनयापनको प्रबन्ध गर्न, घाइते र घाइतेको परिवारलाई प्रभावकारी उपचार एवं रोजगारीको व्यवस्था गर्न, घरबारबिहीन भएकालाई आवास लगायतको वैकल्पिक व्यवस्था गर्न राप्रपा सरकारसंग माग गर्दछ ।
११– इजरायल प्यालेस्टाइन युद्धका क्रममा दुइ वर्षदेखि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको हत्या भएको घटनाप्रति राप्रपा गहिरो दु:ख व्यक्त गर्दछ। दिवंगत जोशीप्रति श्रद्धान्जली एवं परिवारमा समवेदना प्रकट गर्दछौं।
१२– जेनजी आन्दोलनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताप्रति भएको दुव्र्यवहार र सम्पत्तिको क्षतिप्रति राप्रपा दु:ख व्यक्त गर्दछ। साथै सम्पत्ति क्षति भएका पार्टीका नेता कार्यकर्तालाई आवश्यक सहयोग पुर्याउन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरिएको छ ।
१३– केन्द्रीय कार्य सम्पादन समितिको रिक्त रहेका सदस्यहरुमा पदपूर्ति गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
FACEBOOK COMMENTS