काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था उपयुक्त नहुने बताएका छन् ।
विगतमा आफ्नो पार्टी राप्रपा नेपालले यदाकदा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुन्छ कि भन्ने सोच राखेको भए पनि नेपालको भूराजनीतिक जटिलता र चुनौतीका कारणले उक्त व्यवस्था उपयुक्त नहुने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले नेपालमा संसदीय व्यवस्था नै ठिक भएको बताएका छन् ।
जेन जी आन्दोलनपछि मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको सवाल जोडतोडका साथ उठिरहेका बेला उनले सो व्यवस्था उपयुक्त नभएको धारणा सार्वजनिक गरेका हुन् । उनले जेन जीहरूलाई ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबारे वकालत गर्नुपूर्व देशको वृहत्तर हितलाई ध्यानमा राखी गम्भीर भएर सोच्न सबैमा हामी आग्रह गर्दछौँ,’ उनले भनेका छन्, ‘हाल कायम रहेको परम्परागत शैलीको संसदीय व्यवस्थामा आमूल सुधार गरेर जाँदा नै देश र प्रजातन्त्रको हित हुन्छ ।’
नेपालको भूराजनीतिक जटिलता र चुनौती एवम् गत दुई दशकमा नेपालको राजनीतिमा बाह्य शक्तिहरूको बढ्दो चलखेल, प्रभाव र हस्तक्षेपको पृष्ठभूमिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख उपयुक्त नहुने उनको भनाइ छ । त्यो प्रणाली नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डताकै निम्तिसमेत खतरा हुन सक्ने टिप्पणी गर्दै उनले स्वयम् प्रजातन्त्रसमेत धरापमा पर्नसक्ने सम्भावना औँल्याएका छन् ।
उनले नेपालका राजनीतिक दलहरू, आमसञ्चार माध्यमहरू, नागरिक समाज र बुद्धीजिवीहरूमा विदेशीहरूले नैतिक मात्र होइन आर्थिक लगानी पनि गरिरहेको गम्भीर आरोप लगाउँदै चुनाव लड्न, आन्दोलन गर्न, सरकार बनाउन राजनीतिक दलहरूले विदेशीको आर्थिक सहायता लिने गरेको तथ्य उजागर गरेका छन् । यस्तो पृष्ठभूमीमा नेपालमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था ठिक नहुने उनको भनाइ छ ।
‘बाह्य शक्तिहरूले आफ्नो प्रभाव र प्रभुत्व नेपालमा कायम गर्नका निमित्त यहाँका राजनीतिक दलहरू, आमसञ्चार माध्यमहरू, नागरिक समाज र बुद्धीजिवीहरूमा नैतिक मात्र होइन आर्थिक लगानी पनि गरेका छन् । चुनाव लड्न, आन्दोलन गर्न, सरकार बनाउन नेपालका प्रमुख भनिने राजनीतिक दलहरूले विदेशीको आर्थिक सहायता लिने गरेका छन्,’ अध्यक्ष थापाले भने, ‘यो पृष्ठभूमिमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रणाली कायम गर्यौँ भने त्यो चुनाव बाह्य शक्तिहरूबीचको प्रतिस्पर्धाको रूपमा रहन सक्ने टड्कारो सम्भावना म देखिराखेको छु । त्यति मात्र होइन राजनीतिक दलका नेताहरूको प्रवृत्तिलाई हेर्दाखेरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख निरङ्कुश र तानाशाही हुनसक्ने खतरा पनि देखिराखेको छु । र, प्रजातन्त्र स्वयम् धरापमा पर्नसक्ने खतरा मैले देखेको छु ।’
हेर्नुहोस् भिडिओ–
यो पनि पढ्नुहोस्–
‘प्रत्यक्ष कार्यकारी व्यवस्था नेपाल विघटनको प्रक्रिया हो, बालबालिकालाई कसरी बुझाउने होला ?’
FACEBOOK COMMENTS