काठमाडौं । ललितपुरको जावलाखेल फूटबल मैदानमा तिहारलाई लक्षित गरी ‘१८औं गोदावरी पुष्प प्रदर्शनी, २०८२’ सञ्चालन भइरहेको छ ।
फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा असोज २९ गतेदेखि सुरू भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।
एसोसिएशनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार फूल व्यवसायलाई प्रवर्द्धन गर्ने र गोदावरी फूललाई प्रमुखतामा राखेर पुष्प किसानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको हो ।
एसोसिएशनले पुष्प व्यवसायको वृद्धिका लागि प्रत्येक वर्ष यस किसिमका प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्दै आएको छ ।
प्रदर्शनीमा पाँच सय फूलका प्रजाति उपलब्ध छन् । जसको मूल्य ५० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्छ ।
यो प्रदर्शनीले पुष्प व्यवसायलाई अझ मजबुत बनाउने र यसको बिक्री र प्रचारमा ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रदर्शनीमा ८० वटा स्टल राखिएका छन्, जसमा विभिन्न प्रजातिका फूलहरू र फूल खेतीसम्बन्धी कृषि सामग्रीहरू समावेश छन् । प्रदर्शनीमा ४० हजार अवलोकनकर्ता आउने र डेढ करोढ रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS