काठमाडौं, १६ श्रावण- पर्यटन बस संचालकहरु बस सेवा सुचारु गर्ने तयारीमा जुटेका छन्। चैत्र ११ गते देखी निरन्तर व्यवसाय ठप्प हुँदा ठुलो घाटा खेप्नुपरे पछि जोखिम मोलेरै भए पनि व्यवसायीहरु बस संचालन गर्ने मुडमा पुगेका हुन । भदौ ०१ गते देखी लामो दुरीको सवारी साधन सहित पर्यटन यातायात सेवा संचालन गर्न दिने सरकारी निर्णय अनुरुप हरियो प्लेटका सवारी साधान गुडाउने तयारी जोडतोडका साथ भैरहेको पर्यटन यातायात व्यवसायी रमेश पौडेलले जानकारी दिए । ‘तत्काल पर्यटक यात्रु वाहकलाई छिट्टै यात्रु पाउन मुश्किल हुने देखिएता पनि हामीहरु सेवा सुचारु गर्न तत्पर छौ’ पौडेलले भने । ‘सुरक्षाको दृष्टिकोणले पर्यटन बस, कार र जिप भ्यानको यात्रा व्यवस्थित हुने ठानेर हुन सक्छ आम रुपमा पनि हाम्रो सेवा सुचारु बारे चासो प्रकट हुँदै आएको पाएका छौ ’ उनले थप्दै भने ।
अगस्ट १७ तारिख देखी सरकारले अन्तरराष्ट्रिय उडान समेत खुला गर्ने निर्णय गरेकाले पर्यटन यातायात संचालन गर्नुपर्ने स्थिती रहेको उनले बताए । आन्तरिक पर्यटन पनि सिथिल अवस्थामा रहेकाले सरकारले स्वास्थ्य सुरक्षा चासोलाई प्राथमिकता दिएर भए पनि पर्यटक बस सेवा संचालन गर्न दिनुपर्ने माग पर्यटन यातायात व्यवसायीले पहिले देखि नै राख्दै आएका थिए । बस सेवा संचालनमा आउन नसक्दा बैंकको ॠण, किस्ता, व्याज, यातायात मजदुर खर्च, पार्किङ शुल्क, मेन्टेनेन्श शुल्क जस्ता विविध नियमित खर्च धान्न धौ धौ परेको उनीहरुको गुनासो छ ।
वर्ल्ड टच ट्राभल एण्ड टुर्सका प्रबन्ध संचालक समेत रहेका पौडेलले हरियो प्लेटको यातायातलाई कसरी सुरक्षित र व्यवस्थित तबरले संचालन गर्ने बारे व्यवसायी बीच कुराकानी भैरहेको जानकारी दिए । ‘यतिन्जेल त खर्च जेनतेन धानेका छौ, जति दिन कटदै गईरहेको छ उति मुश्किल हुँदै गईरहेको छ, हाम्रो जिविका नै प्रभावित बनेको छ, त्यसैले अबिलम्ब हाम्रा बस सेवा सुचारु गर्नुपर्छ भनेर हामी लागिपरेका छौ, भाद्र १ गते देखी हामी बस गुडाउन वाध्य हुँदैछौ’ पौडेलले भने ।
टान अध्यक्ष खुम बहादुर सुवेदीले पनि भाद्र १ गते देखी पर्यटकिय यात्रुवाहक साधनहरु गुडनु राम्रो पक्ष भएको बताए । ‘शिथिल पर्यटन क्षेत्रलाई यसबाट केही राहत पुग्ने देखिन्छ यद्यपी सरकारले त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा पिसिआर रुम बनाउनुपर्छ र एक घण्टा भित्रमा रिपोर्ट उपलब्ध गराउनु पर्छ, अन्यथा नेपाल प्रतिको आकर्सण घटने हुँदा पर्यटन यात्रुवाहक साधनहरु ग्यारेज मै थन्किनुपर्ने अवस्था आईपर्छ’ टान अध्यक्ष सुवेदीले भने ।
FACEBOOK COMMENTS