काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश भाग्ने कुरा कल्पना बाहिरको कुरा भएको बताएका छन् ।
शनिबार एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक जग नभएको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको भएको बताएका हुन् ।
ओलीले विघटित प्रतिनिधिसभाको पुनर्स्थापना आफ्नो पार्टीको अडान भएको भन्दै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका थिए । उनले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने आफ्नो दाबि दोहोराएका थिए । ओलीले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको र साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान नसकिने बताए ।
उनले भने- ‘समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ । नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आउनुहुँदैन ।’
अध्यक्ष ओली गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका थिए ।
FACEBOOK COMMENTS