काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले चुनाव गर्ने हो राजनीतिक दलहरुलाई सहभागी गराएर नयाँ सरकार बनाउनुपर्ने बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गरेर विप्लवले सरकारले जबर्जस्ति चुनाव गर्न खोजे देश सिरिया बन्ने खतरा रहेको भन्दै दलहरुलाई किनारा गरेर निर्वाचन सम्भव नभएको बताएका छन् । उनले हजारौं हतियार लुटिएको र कैदीहरु बाहिर रहेको अवस्थामा चुनाव हुन नसक्ने भन्दै पहिला त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । नेपालमा अरुको इशारामा जबर्जस्ति निर्वाचन गर्ने प्रयास हुन लागेको भन्दै नयाँ सरकार बनाएर निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् ।
उनले नेपालमा अमेरिका–तिब्बत–नेपाली सेना बनाएको आशंका जेनजी आन्दोलनमा काला टिसर्टधारी टिओबी समुहको उपस्थितिले देखिएको बताएका छन् । उनले नेपालमा कल्पना नै नगरिएको २ लाख–३ लाख तिब्बती शरणार्थी छन् भन्ने हल्ला गराएर टिओबीको टिसर्ट लगाएर हतियर देखाएर गरिएको प्रदर्शनले अनेक आशंका उब्जिएको बताए ।
साथै उनले जेनजी आन्दोलनपछि बृहत कम्युनिष्ट केन्द्रको आवश्यकता देखिएको भन्दै अहिले आफुहरुले माओवादी केन्द्र लगायतका दलहरुसँग यस विषयमा छलफल गरिरहेको बताए । विप्लवले अहिलेका कम्युनिष्ट पार्टीका नेतृत्वहरुले संरक्षकको भूमिकामा गएर कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा आफुहरुले जोड दिइरहेको बताए ।
FACEBOOK COMMENTS