काठमाडौं । जापानमा साने ताकाइची पहिलो महिला प्रधानमन्त्री बनेर नयाँ इतिहास रचेकी छन् । ताकाइचीले संसद्को तल्लो सदनमा भएको चुनावमा २३७ मतका विरुद्ध १४९ मतले जितिन् ।
तल्लो सदनपछि उनी माथिल्लो सदनमा पनि निर्वाचित भइन्, जहाँ पहिलो चरणमा बहुमतबाट एक मत कम भएपछि उनले दोस्रो चरणमा १२५–४६ को अन्तरले जितिन् ।
ताकाइची कमजोर गठबन्धनका साथ प्रधानमन्त्री बनेकी छन् । उनी दिवङ्गत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी समर्थक हुन् र बलियो सैन्य, कडा आप्रवासन नीति र जापानको शान्तिवादी संविधानमा संशोधनको वकालत गर्छिन् ।
यस महिनाको सुरूमा ताकाइची एलडीपीको नेता निर्वाचित भएकी थिइन् । ताकाइचीले २०२१ र २०२४ मा पनि प्रधानमन्त्री बन्न खोजेकी थिइन्, तर पर्याप्त सांसदहरूको समर्थन प्राप्त गर्न असफल भएकी थिइन् ।
ताकाइचीले प्रधानमन्त्री शिगेरू इशिबाको ठाउँ लिनेछिन् । जुलाईमा भएको माथिल्लो सदनको चुनावमा पार्टीले पराजय भोग्नुपरेको थियो, जसले गर्दा पार्टीभित्र विरोध बढ्दै गएको थियो । देशका जनता मुद्रास्फीतिबाट आक्रोशित छन् र विपक्षी दलहरूलाई समर्थन गर्न थालेको बेला एलडीपीले ताकाइचीलाई रोजेको हो ।
ताकाइचीलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको नजिकको मानिन्छ । शिन्जो जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने प्रधानमन्त्री थिए र उनलाई चीनविरोधी नेता मानिन्छ ।
त्यस्तै, तकाइचीले पुरुष राजाको शासनलाई समर्थन गर्छन् र रानीको सिंहासनमा प्रवेशको विरोध गर्छिन् । ताकाइचीले ट्रम्प प्रशासनसँगको हालैको व्यापार सम्झौताको विरोध गरेकी छन् भने उनले यसलाई पुनः वार्ता गर्नुपर्ने बताउदै आएकी छन् ।
अगस्टमा जापान र संयुक्त राज्य अमेरिकाबीच सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअन्तर्गत जापानले संयुक्त राज्य अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने वाचा गरेको थियो ।
त्यसैगरी, ताकाइची समलिङ्गी विवाहको विरोध गर्छिन् । उनी यसले पारिवारिक मूल्यहरूलाई कमजोर बनाउने विश्वास गर्छिन् । उनले जापान प्रवेश गर्ने विदेशीहरूका लागि कडा नियमहरूको लागि आह्वान गरेकी छिन् ।
अवैध रूपमा प्रवेश गर्नेहरूविरुद्ध कारबाही गरिनुपर्छ भन्ने उनको विश्वास छ । साथै, उनी विवाहित जोडीहरूको नाममा छुट्टाछुट्टै उपाधि प्रयोगको विरोध गर्छिन् ।
साने ताकाइचीले २००४ मा आफ्नै पार्टीका सदस्य ताकु यामामोतोसँग विवाह गरेकी थिइन् । यद्यपि, राजनीतिक मतभेदका कारण जुलाई २०१७ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए । त्यस समयमा मिडियामा उनीहरूको अलग्गिएको खबर व्यापक रूपमा चर्चामा आएको थियो ।
यद्यपि, चार वर्षपछि डिसेम्बर २०२१ म उनीहरूले पुनर्विवाह गरेका थिए । पछि ताकु यामामोतोले आफ्नो थर परिवर्तन गरेर ताकाइची राखेका थिए ।
FACEBOOK COMMENTS