काठमाडौं, साउन १८ – सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् ।
साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु गर्ने सरकारको तयारी छ ।
तर राजधानी काठमाडौँसहित देशका केही भागमा कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यसको जोखिम कम नभएको विज्ञहरूले बताउँदै आएका छन् । काठमाडौँस्थित प्रहरी मुख्यालयमा ७२ जना प्रहरीलाई सङ्क्रमण भएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखामा २ जनामा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपीसहित ३ सय ७५ प्रहरी क्वारेन्टिनमा बसेका छन् । पहिलेभन्दा काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
नेपालमा हालसम्म २० हजार ८६ जनामा कोरोना सङ्क्रमण भएकोमा १४ हजार ४ सय ९२ जना उपचारपछि फर्किएका छन् । ५६ जनाको निधन भएको छ भने ५ हजार ५ सय ३८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।
सबैले मास्क लगाए लकडाउन हुँदैन : सीसीएमसी प्रवक्ता
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रवक्ता महेन्द्र गुरागाईं फेरि लकडाउन हुने हल्ला चले पनि लकडाउन गर्ने सम्भावना नभएको बताउँछन् । उनले लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा नागरिको हातमा रहेको बताउँछन् । उनले मास्क लगाउने, दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सावधानी अपनाउने हो भने सङ्क्रमणको दर कम हुने र लकडाउन नहुने बताए । यसका लागि सबै पक्ष सचेत हुनुपर्ने प्रवक्ता गुरागाईंले बताए ।
उनले भने– ‘सबैले मास्क लगाएको छ कि छैन पुलिसले मात्र हेर्न सक्दैन, तपाईं हामी सबै सिपाही हुनुपर्यो । प्रहरीले हेरिरहेको छ, सीडीओबाट जरिवाना गराउने काम पनि भइरहेको छ । झन्डै ४० लाख जनसङ्ख्या छ, सबै प्रहरीले रुँघेर पनि सक्दैन । सबै प्रहरी बन्नुपर्ने अवस्था छ । आफू सुरक्षित हुने अरूलाई पनि सुरक्षित राख्नुपर्ने भएको छ ।’
यस्तै खुला गरिएका सेवाहरू मापदण्डका आधारमा चलाउन सरकारले अनुगमनको काम थालेको उनले बताए । होटल रेस्टुराँहरू, पर्यटन क्षेत्र साउन १५ देखि खुला गरेपछि ती क्षेत्रमा मापदण्ड पूरा गरे नगरेको बारे अनुगमनका लागि पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । यस्तै बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको बारे अनुगमन गर्नका लागि वाणिज्य विभागलाई जिम्मेवारी दिइएको छ । त्यसका लागि गृहमन्त्रालयले सघाउने उनले बताए । सरकारले कोरोना सङ्क्रमण फैलिएको क्षेत्रबाट राजधानी प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण गरी मापदण्ड पूरा गरेर मात्र राजधानी भित्रिन दिने उनको भनाइ छ ।
उनले भने– ‘सङ्क्रमणको सम्भावना भएकाहरूको स्वाब सङ्कलनको काम भइरहेको छ । सङ्क्रमण भएकाहरू अस्पताल जान्छन् । त्यो भएपछि सङ्क्रमण फैलिँदैन तर सबै यता र उता गर्ने हो भने भीडभाडमा बस्ने, मास्क नलगाउने, स्वास्थ्य प्रोटोकललाई पालना नगर्ने हो भने आफू पनि जोखिममा हुने भयो अरूलाई पनि जोखिममा पार्ने भयो । यसका लागि सबै सचेत हुन जरुरी छ ।’
भारतबाट आउनेहरूलाई सिमानामै पीसीआर परीक्षण गरेर क्वारेन्टिनमा राख्ने र त्यसो गर्दा कोरोना नफैलिने अपेक्षा लिएको प्रवक्ता गुरागाईंले बताए ।
दैनिक १० हजारसम्म स्वाब सङ्कलन गर्ने, बाहिरबाट आएकाहरूको कन्ट्याक्ट ट्रसिङका आधारमा परीक्षण गर्ने र सङ्क्रमण फैलिन नदिने सरकारले नीति लिएको उनले बताए । अहिले नेपालमा औसत दैनिक ३ सय हाराहामीमा सङ्क्रमित फेला परिरहेका छन् ।
FACEBOOK COMMENTS