 
			                  			              
काठमाडौं । कोशी र लुम्बिनी प्रदेश सरकारले उद्योगहरुमा विद्युत काट्ने नेपाल विद्युत प्राधिकरणको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् ।
कोशीका मुख्मयन्त्री हिक्मतकुमार कार्की र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशितमार्फत अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र (उद्योग, कलकारखाना) बन्द हुने अवस्था आउनु अस्भाभाविक र चिन्ताको विषय भएको बताएका छन् ।
कोशीका मुख्मयन्त्री कार्कीले विद्युत आपूर्ति बन्द गरिएको कारणले कोशी प्रदेशका केही उद्योग बन्द भई अर्थतन्त्रमा मात्र नभई स्थानीय रोजगारीमा समेत असर परेको बताएका छन् । ‘भदौ २३ र २४ गतेको प्रदर्शनमा निजी उद्योग, सुपर मार्केट, कलकारखाना तथा संचार क्षेत्रसमेत आगजनी तथा तोडफोड भई उत्पन्न भएको असुरक्षाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरु निरुत्साहित हुने परिस्थिति निर्माण भयो,’ उनले भनेका छन्, ‘बक्यौता विवादका कारण विद्युत आपूर्ति बन्द हुँदा अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बन्द हुने अवस्था आउनु अस्वाभाविक हो ।’ राज्य र निजी क्षेत्रबीचको असमझदारी यति लामो समयसम्म रहनु दु:खद विषय भएको उनले बताएका छन् ।
मुख्यमन्त्री कार्कीले सरकार र राज्यप्रति निजी क्षेत्रको विश्वसनियता अभिवृद्धि गरी खस्कदो अर्थतन्लाई लयमा फर्काउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । ‘एउटा उद्योगको विद्युत आपूर्ति बन्द गर्दा पर्नसक्ने बहुआयामिक असरलाई मध्यनजर गरी उपयुक्त निकास निकाल्नु पर्दछ,’ उनले भनेका छन्, ‘यस परिस्थितिमा मुलुकको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ रहेको निजी क्षेत्रको अभिभावक राज्य बन्नुपर्दछ ।’
त्यसैगरी लुम्बिनीका मुख्यमन्त्री आचार्यले उद्योगहरूको विद्युत् आपूर्ति बन्दका कारण प्रदेशका विभिन्न उद्योगहरू बन्द भएको, सयौं श्रमिकहरू रोजगारीविहीन भएका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पारेको बताएका छन् । औद्योगिक क्रियाकलापको निरन्तरता र लगानी वातावरणको स्थायित्वका लागि संघीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबीच वार्ता र संवादको माध्यमबाट दीर्घकालीन समाधान खोज्न उनले ध्यानाकर्षण गराएका छन् । ‘संवाद, सहकार्य र आपसी समझदारीकै माध्यमबाट यस्तो संवेदनशील विषयको समाधान सम्भव छ,’ उनले भनेका छन्, ‘उद्योग व्यवसायमा विश्वास पुन:स्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्षहरू जिम्मेवार र संवेदनशिल बन्नु आवश्यक छ ।’

मुख्यमन्त्री कार्कीले भनेका छन्:

नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिएको कारणले कोशी प्रदेशका केही उद्योग बन्द भई अर्थतन्त्रमा मात्र नभई स्थानीय रोजगारीमा समेत असर परेको विषयमा कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।

करिब दुई दशकदेखि नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच डेडीकेटेट फिडर र ट्रंकलाइनका सम्बन्ध असमझदारी रही आएको तथा विद्युत महसुल बक्यौता विवाद रहेको छ । मुलुकको समग्र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्र हो । नेपालको आर्थिक क्षेत्रमा लामो समयदेखि देखा परेका समस्या समाधान उन्मुख हुँदै गर्दा गत भदौ २३ र २४ गतेको प्रदर्शनमा निजी उद्योग, सुपर मार्केट, कलकारखाना तथा सञ्चार क्षेत्रसमेत आगजनी तथा तोडफोड भई उत्पन्न भएको असुरक्षाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरु निरुत्साहित हुने परिस्थिति निर्माण भयो । त्यस्तै बक्यौता विवादका कारण विद्युत आपूर्ति बन्द हुँदा अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बन्द हुने अवस्था आउनु अस्वाभाविक हो । हाल देखा परेका विवाद र समस्याको वार्ता र संवादका माध्यमबाट समाधान खोज्न सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछु । उद्योगीहरुसँग यथाशीघ्र वार्ता गरी सहज ढंगले उद्योग संचालनको वातावरण निर्माण गर्न नेपाल सरकारले पहलकदमी लिनुपर्दछ ।

राज्य र निजी क्षेत्रबिचको असमझदारी यति लामो समयसम्म रहनु दुःखद विषय हो । एउटा उद्योगको विद्युत आपूर्ति बन्द गर्दा पर्नसक्ने बहुआयामिक असरलाई मध्यनजर गरी उपयुक्त निकास निकाल्नु पर्दछ । यस परिस्थितिमा मुलुकको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ रहेको निजी क्षेत्रको अभिभावक राज्य बन्नुपर्दछ । सरकार र राज्यप्रति निजी क्षेत्रको विश्वसनीयता अभिवृद्धि गरी खस्कँदो अर्थतन्त्रलाई लयमा फर्काउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । साथै नेपाल सरकार र निजी क्षेत्रबीच वार्ता र संवादको वातावरण निर्माण गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराउन चाहान्छु ।


FACEBOOK COMMENTS