काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुदैछ ।
आइसीसी एकेडेमीमा हुने यस खेलमा अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । आज सोमपाल कामीको स्थानमा नन्दन यादवलाई खेलाइएको छ ।
आजको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, नन्दन यादव र ललित राजबंशी रहेका छन् ।
यस सिरिजमा नेपालले शुरुका दुई खेलमा हार बेहोरेको छ । नेपाल अमेरिकासँगको पहिलो खेल १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै अमेरिकाले भने नेपाल र युएईसँग जित हासिल गरेको छ ।
आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म १० पटक आमने सामने भएका छन् । जसमा अमेरिकाले ५ र नेपालले ४ खेल जितेको छ । त्यस्तै एक खेल टाइ भएको थियो ।

हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २२ खेल खेल्दै ३२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १८ खेलमा केवल ५ खेल जितेको छ भने २ खेलमा अंक बाँडेको छ । त्यस्तै ११ खेलमा हार बेहोरेको छ ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

FACEBOOK COMMENTS