काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर) बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङलाइसेन्स) छपाई कार्यको औपचारिक शुभारम्भ गरेका छन् ।
आज एक समारोहकाबीच काभ्रेपलाञ्चोकको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा प्रिन्टिङ प्रेसको बटन थिचेर सञ्चारमन्त्री खरेलले लाइसेन्स छपाइको शुभारम्भ गरे ।
सञ्चारमन्त्री खरेलले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र छपाई कार्य स्वदेशमै प्रारम्भ हुनु राष्ट्रिय आत्मनिर्भरताको लागि एक महत्त्वपूर्णउपलब्धि भएको बताउँदै यस कार्यले आमसेवाग्राहीले भोगेको सास्तीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरे । उनले भने “विभिन्न कानुनी र प्राविधिक जटिलताका बाबजुद संवेदनशील कागजातको रूपमा रहेको लाइसेन्स छपाई स्वदेशमै सुरु गर्नु सरकारको ठूलो सफलता हो । यसले राष्ट्रिय तथ्याङ्कको सुरक्षा मात्र गर्दैन, छपाईका नाममा बाहिरिने अरबौंको विदेशी मुद्रासमेत बचत गर्नेछ ।”
सञ्चारमन्त्री खरेलले सुरक्षण मुद्रण केन्द्रबाट धुलो टकटक्याएर लाइसेन्स छपाइ सुरु गरिएको बताए । उनले भने “वर्षौँदेखि धुलाम्मे वस्थामा थन्किएका मेसिन र उपकरणहरूको धुलो टकटक्याएर छपाइ सुरु गरिएको छ । तीनवर्षदेखि मेसिन उपयोग बिहीन थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । हामीले धुलो टकटक्याएर छपाइ सुरु गरेका हौँ ।”
मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइकाबाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाईको काम सुरु गरिएको उल्लेख गरे । उनले अनुसार २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको र चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा लाइसेन्स छपाई सुरु गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने सरकारको उद्देश्य रहेको बताए ।

सञ्चार मन्त्रालयका सचिव सचिव तथा सुरक्षण मुद्रण केन्द्रका अध्यक्ष राधिका अर्यालले आजको दिन विशेषरहेको बताउदैं ’हजार माइलको यात्रा पहिलो पाइलाबाटै शुरु हुने’ र सो कोशुभारम्भ आज सवारीचालक अनुमतिपत्र छपाईबाट शुरु गरिएको बताइन् ।

केन्द्र ऐनले दिएको म्यान्डेटअनुसार काम गर्न प्रतिबद्ध रहेकोस्मरण गराउदै क्रमशः सबै प्रकारका सुरक्षण मुद्रणका सामग्रीहरु स्वदेशमैछपाई गर्ने दिशामा अघि बढ्न कार्यकारी निर्देशकलाई निर्देशन दिइन् ।

पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले केन्द्रबाट लाइसेन्स छपाई सुरु भएकोमा अत्यन्तै उत्साहित रहेको भन्दै यसको दिगोपनाका लागि नगरपालिकाकोतर्फबाट आवश्यक सहजिकरण गरिने विश्वास व्यक्त गरे ।

उनले सरकारको पहलमा आफ्नै प्रेसबाट लाइसेन्छ पछाइ सुरु गरेर राज्यको सम्पत्तिको सदुपयोग भएको उल्लेख गरे ।

यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरी तिवारीले लाईसेन्स छपाई सुरुसँगै सेवाग्राहीले राहत पाउने बताए । उनका अनुसार अहिले करिब ३० लाख कार्ड राजश्व लिएर पनि उपभोक्तालाई दिन सकिएको छैन ।
केन्द्रका अनुसार नयाँ लाइसेन्समा अघिल्लो संस्करणको जस्तो ‘चिप’ भने नहुने भए पनि यसमा उच्चस्तरको सुरक्षा प्रणाली हुने भएको छ । केन्द्रले छ महिनाभित्र करिब १२ लाख नयाँ लाइसेन्स छाप्ने सहमति गरेको छ । केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले नयाँ कार्डमा ‘क्यूआर कोड’ हुने र त्यसमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुने बताइएको छ ।
उनले भने,“नयाँ कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन् । ट्राफिक प्रहरीले अफलाइनमै क्यूआर स्क्यान गरेर जाँच गर्न सक्नेछ ।”
ढुङ्गानाका अनुसार यो कार्ड ‘स्मार्ट’ हुने भए पनि अघिल्ला चिपयुक्त कार्डभन्दा अझ परिष्कृत सुरक्षा प्रविधि भएको हुनेछ । गत जेठ महिनामा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । सस्थाको प्राविधिक मूल्यांकन पछि एक हप्ता अघि मात्र कार्यान्वयन पत्रमा हस्ताक्षर भएको थियो ।
FACEBOOK COMMENTS