काठमाडौ । नेपाली कांग्रेसका पूर्वसांसद् एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ ।
काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति २ः५८ बजे उनको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
मिर्गौला फेल भएकोले केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनले वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोट प्रकरणमा इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले गएको जेठ १४ गते सफाइ दिएको थियो ।
आलम २०५४ सालमा श्रम राज्यमन्त्री, २०५५ सालमा वन राज्यमन्त्री, २०५६ सालमा स्थानीय विकास राज्यमन्त्री, २०६४ सालमा श्रम तथा यातायात मन्त्री बनेका थिए ।

आलमका दुई छोरा र एक छोरी छन् । जेठो छोरा डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन् ।


FACEBOOK COMMENTS