काठमाडौं । अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयात पूर्ण रूपमा बन्द गरेको छ ।
दश वर्षअघि अफगानिस्तानले पाकिस्तानबाट ३०० मिलियन डलरभन्दा बढीको पीठो आयात गरेको थियो । त्यसबेलादेखि अफगानिस्तानले पाकिस्तानबाट बिस्तारै गहुँ आयात घटाएको छ र अहिले आयात पूर्ण रूपमा बन्द गरेको छ ।
हालै दुई देशहरूबीचको तनावका कारण अफगान तालिबानले पाकिस्तानसँगको व्यापार विच्छेदका लागि आह्वान गरेको थियो । अफगानिस्तानले आफ्ना व्यापारीहरूलाई पाकिस्तानबाहेक अन्य व्यापार मार्गहरू खोज्न निर्देशन जारी गरेको छ ।
विगत केही दशकदेखि अफगानिस्तानले पाकिस्तानमार्फत् सबैभन्दा ठूलो व्यापार सञ्चालन गर्दै आएको छ, जुन यसको कुल व्यापारको लगभग आधा हो । अन्तर्राष्ट्रिय र एसियाली बजार अनुगमन एजेन्सीहरूको तथ्याङ्कले २०१५ मा पाकिस्तानले अफगानिस्तानमा ३२० मिलियन डलरको पीठो निर्यात गरेको देखाउँछ, तर यो अब शून्यमा पुगेको छ । यी तथ्याङ्कहरूले अफगानिस्तान अब पीठोका लागि पाकिस्तानमा निर्भर नरहेको सङ्केत गरेको छ ।
अफगानिस्तानले २०२४ मा उज्वेकिस्तान, काजाकिस्तान र रुसबाट ६८९ मिलियन डलरको गहुँ र पीठो खरिद गरेको थियो । यो परिमाण सन् २०२५ भित्र ७५० मिलियन डलर पुग्ने अनुमान गरिएको छ ।

FACEBOOK COMMENTS