श्रावण २२ – वीरगन्जको नेशनल मेडिकल कलेजले उपचारका लागि भर्ना लिन नमान्दा एक बिरामीको मेडिकल कलेजकै अगाडि मृत्यु भएको छ । वीरगन्जका निजी अस्पतालले बिरामी भर्ना लिन नमानेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार नै जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेको थियो ।
तर स्थानीय प्रशासनले सूचना जारी गरेकै दिन नेशनल मेडिकल कलेजले भर्ना लिन नमान्दा मेडिकल कलेजकै गेटमा बिहीबार बिहान वीरगन्ज १४ श्रीपुरका ६४ वर्षीय चलितर महत्तोको मृत्यु भएको हो ।
महत्तोलाई उपचारका लागि बिहीबार बिहान मेडिकल कलेजमा लिएर जाँदा भर्ना नलिएका कारण महत्तोको मृत्यु भएको मृतकका भाइ शम्भु महत्तोले बताए । बिरामी लिएर मेडिकल कलेजमा जाँदा गेटमा खटिएका कर्मचारीले एमडीले भनेपछि मात्रै भित्र जान दिने भन्दै रोकि दिएको भन्दै शम्भुले भने, दाइलाई कोरोना नभएको नेगेटिभ रिपोर्ट देखाउँदा पनि मानेन्, आधा घण्टासम्म हार गुहार गर्यौं तैपनि केही लागेन, दाइको मृत्यु भयो ।
शम्भुका अनुसार, बुधबार राति महत्तोको दिशामा रगत देखिएको र श्वासप्रश्वासमा पनि समस्या भएपछि परिवारजनले उपचारका लागि बिहीबार बिहान मेडिकल कलेज लिएर गएका थिए ।
दुई दिनअघि हल्का ज्वरो र खोकी भएपछि महत्तोलाई मेडिकल कलेजमै लिएर जाँदा पीसीआर जाँचको रिपोर्ट लिएर आउनु भन्दै फर्काइ दिएका थिए । त्यसपछि साउन ११ र १५ गते गरी २ पटक पीसीआर परिक्षण गराउँदा महत्तोको दुवै पटकको रिपोर्ट नेगेटिभ आएको थियो ।
बिहीबार बिहान गेटमा रोक्दा दुवै नेगेटिभ रिपोर्ट देखायौं तै पनि गेटमा खटिएका कर्मचारीले मानेन्, एमडीले भनेपछि मात्रै भर्ना लिन्छौं भने, मृतक महत्तोका भाइ शम्भुले भने, भर्ना लिन नमान्दा उपचार नपाएर दाइको ज्यान गयो।
नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसेनले भने मेडिकल कलेजलाई बदनाम गराउन झुठो आरोप लगाइएको बताए । उनले भने, पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएका बिरामीलाई भर्ना गरेर उपचार गर्दै आएका छौं, गेटबाटै फर्काइएको आरोप झुठो हो । नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्धिन अन्सारीले भने आफूलाई यस विषयमा जानकारी नभएको बताए ।
FACEBOOK COMMENTS