काठमाडौँ । आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ ।
यस बर्षको विश्व शौचालय दिवसको विषयवस्तु ‘परिवर्तनशील संसारमा सरसफाइ’ रहेको छ, जसको प्रमुख अभियान नारा हामीलाई सधैं शौचालयको आवश्यकता पर्नेछ’ भन्ने रहेको छ। यो विषयवस्तु जलवायु परिवर्तन, शहरीकरण, बसाइँसराइ र असमानता जस्ता चुनौतीहरूले कसरी सरसफाइमा पहुँचलाई पनि कठिन बनाएका छन् र सबैका लागि लचिलो, जलवायु-लचिलो सरसफाइ प्रणाली निर्माण गर्ने आवश्यकतामा केन्द्रित रहेको छ ।
सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । बढ्दो सहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानव बस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढेर गएको छ ।
मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ ।
दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ।तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्याउनमा प्रगति भने सुस्त गतिमा छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो । राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन्।खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।


FACEBOOK COMMENTS