काठमाडौं । नेपाल रिइन्स्यारेन्स कम्पनीले जेन जी आन्दोलनमा आगजनी गरेर नष्ट पारिएको काठमाडौंको नक्सालस्थित अन्तर्राष्ट्रिय चेन होटेल ‘हिल्टन’लाई क्षतिपूर्ति भुक्तानी गर्न अस्वीकार गरेको छ ।
होटेलको बीमक कम्पनी द ओरिएण्टल इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच दङ्गा, हडताल, तोडफोड तथा आतङ्कवाद नोक्सानी (आरएसएमडीएसटी) बीमा सम्झौता नै नभएको भन्दै नेपाल रिइन्स्यारेन्सले दाबी भुक्तानी गर्न अस्वीकार गरेको हो ।
स्रोतका अनुसार ओरिएण्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा शङ्कर ग्रुपअन्तर्गतका केही कम्पनीहरूको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा गरेको थियो । आव २०८२/८३ का लागि पनि ओरिएण्टलले पुनर्बीमाको लागि प्रस्ताव गरेको थियो ।
ओरिएण्टलले आरएसएमडीएसटी बीमा सम्झौताका लागि ईमेल गरेर प्रस्ताव पठाएको थियो । तर, पुनर्बीमा कम्पनीले ओरिएण्टलको प्रस्तावको प्रतिउत्तर पठाएको थिएन । यही बीच जेन जीको प्रदर्शनबाट हिल्टनमा ठूलो क्षति भयो ।
बीमा प्रस्तावको आधारमा नै ओरिएण्टलले नेपाल पुनर्बीमा कम्पनीसँग हिल्टनको आरएसएमडीएसटी बीमाबापतको रकम माग गरेको थियो । प्रस्तावको प्रतिउत्तर नपठाइनुलाई प्रस्ताव स्वीकार गरेको मानिने भन्दै ओरिएण्टलले दाबी माग गरेको थियो ।

ओरिएण्टल इन्स्योरेन्स कम्पनीले प्रस्तावको आधारमा नेपाल पुनर्बीमा कम्पनीसँग दाबी रकम माग गरे पनि नेपाल पुनर्बीमा कम्पनीले दाबी भुक्तानी दिन अस्वीकार गरेको छ ।

स्रोतका अनुसार हिल्टन होटेलको सबै आरएसएमडीएसटी बीमा सम्झौता हिमालयन पुनर्बीमा कम्पनीसँग भएको छ । गत वर्ष होटेलको आरएसएमडीएसटी बीमा सम्झौता हिमालयन पुनर्बीमा कम्पनीमा भएको थियो भने चालु आर्थिक वर्षका लागि पनि स्वतः रूपमा हिमालयन पुनर्बीमा कम्पनीमा भएको हुनुपर्ने कम्पनी स्रोतको दाबी छ ।

प्राधिकरणको नियमअनुसार भने आरएसएमडीएसटी बीमा नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्नेछ । ओरिएण्टलले नियमविपरीत हिमालयन रिसँग बीमा गरेको बताइन्छ ।

माओवादी द्वन्द्वका समयमा हुलदङ्गाबाट नेपालमा धेरै भौतिक सम्पत्ति तोडफोड भयो । नेपालमा हुलदङ्गाको जोखिम बढ्दै गएपछि विदेशी पुनर्बीमा कम्पनीले यस्तो खालको जोखिमको पुनर्बीमा अस्वीकार गर्न थाले । सो समस्या समाधान गर्न नेपाल सरकार र बीमा कम्पनीको प्रयासमा आकस्मिक बीमा कोषको स्थापना भयो । यो कोषले २०६० सालदेखि यस्तो खालको जोखिमको रक्षावरण गर्दै आएको छ ।

२१ साउन २०७१ को मन्त्रिपरिषद्को बैठकले सोही कोषलाई नेपाल पुनर्बीमा कम्पनीमा रूपान्तरण गर्ने निर्णय गर्यो । सोही निर्णयअनुसार २१ कात्तिक २१ गतेदेखि नेपाल पुनर्बीमा कम्पनी दर्ता भयो ।
त्यतिबेलादेखि नै कम्पनीले आरएसएमडीएसटी बीमा पुल सञ्चालन गर्दै आएको छ । प्राधिकरणले आरएसएमडीएसटी बीमालाई अनिवार्य गरेको छ । प्रत्येक निर्जीवन बीमा कम्पनीले आरएसएमडीएसटी बीमा नेपाल पुनर्बीमा कम्पनीले सञ्चालन गर्दै आएको पुलमा नै बीमा गर्नुपर्ने प्रावधान राखेको छ । तर, ओरिएण्टलले प्राधिकरणले गरेको व्यवस्थाविपरीत हिमालयन रि इन्स्योरेन्स कम्पनीमा आरएसएमडीएसटी बीमा गरेको बताइन्छ ।
होटेल एशोसिएसन (हान) ले दिएको क्षतिको विवरणअनुसार हिल्टन होटेलको अन्डर इन्स्योरेन्स भएको पाइएको छ । हानका अनुसार होटेलमा ८ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । तर, होटेलको जम्मा ५ अर्ब रुपैयाँको मात्रै बीमा भएको छ ।
सम्पत्तिको कुल बजार मूल्यभन्दा कम बीमाङ्कमा बीमा भएको बीमालाई अन्डर इन्स्योरेन्स भएको मानिन्छ । हानको विवरणअनुसार हिल्टनले पनि बैंकको कर्जाको मात्रै बीमा गरेको देखिन्छ ।
अन्डर इन्स्योरेन्सका कारण होटेलले बीमा कम्पनीबाट पाउने भुक्तानी पनि कम हुनेछ । बीमा कम्पनीले बीमाङ्क रकम र सम्पतिको बजार मूल्य बीच गणना गरी दाबी भुक्तानी गर्नेछ । अर्थात् बीमाङ्क रकम ५ अर्ब सम्पतिको बजार मूल्य ८ अर्बको करिब ६२ प्रतिशत हुन आउँछ । बीमा कम्पनीले भुक्तानी गर्दा अधिकतम ५ अर्बको अधिकतम ६२ प्रतिशत मात्रै भुक्तानी गर्छ ।
होटेलमा शतप्रतिशत क्षतिग्रस्त भएको अवस्थामा ६२ प्रतिशत दाबी भुक्तानी हुन्छ । तर, धेरैजसो अवस्थामा शतप्रतिशत क्षति भएको हुँदैन । अर्थात् होटेलमा ७५ प्रतिशत क्षति भएको छ भने कम्पनीले ६२ प्रतिशतलाई शतप्रतिशत मानी त्यसको ७५ प्रतिशत मात्रै होटेललाई भुक्तानी गर्नेछ । तर, दाबी भुक्तानीमा ६५ प्रतिशत पुनर्बीमा कम्पनी र ३५ प्रतिशत बीमा कम्पनीले भुक्तानी गर्नेछ ।
आरएसएमडीएसटी बीमामा १० करोड रुपैयाँसम्मको दाबीमा ६५ प्रतिशत पुनर्बीमा कम्पनीले भुक्तानी गर्छ भने ३५ प्रतिशत बीमकले गर्नुपर्नेछ । १० करोड देखि ६ अर्ब रुपैयाँसम्मको दाबीमा भने शतप्रतिशत पुनर्बीमा कम्पनीले भुक्तानी गर्नेछ ।
FACEBOOK COMMENTS