काठमाडौं, साउन २५ – राष्ट्रिय ट्रमा सेन्टरले नियमविपरीत करारमा नर्स छनोट गरेको छ । एक हजार दुई सय ५१ जनाले दरखास्त दिएकामा पाँच महिनापछि एक सय ७७ जनाको नाम छनोट गरिएको छ । बाँकी एक हजार ७४ जनालाई छनोटबारे जानकारीसमेत दिइएको छैन ।
जब कि, गत २० फागुनमा प्रकाशित सूचनामा लिखित र मौखिक दुवै परीक्षा लिइने उल्लेख थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहमतिमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले २५ जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेका थिए । स्टाफ नर्स, चिकित्सक वा स्वास्थ्यकर्मी करारमा व्यवस्थापन गर्ने कार्यविधि २०७६ अनुसार सूचना प्रकाशित गरिएको थियो । आवेदकहरूबाट सेन्टरले ६ सयका दरले सात लाख ५० हजार ६ सय रुपैयाँ उठाएको थियो ।
परीक्षाका नाममा नर्सहरूबाट पैसा असुलेको सेन्टरका कर्मचारी बताउँछन् । नर्सहरूले पनि यसको विरोध गरेका छन् । नेपाल नर्सिङ परिषद्की सदस्य जिता बरालले ट्रमा सेन्टरले गरेको काम नीतिगत भ्रष्टाचारको पराकाष्ठा भएको बताइन् । परीक्षा गराउने नाममा ठगी गरेको उनको भनाइ छ । ‘कोभिड महामारीका वेला ठूलो संख्यामा नर्सहरू अन्यायमा परेका छन् । दुवै प्रक्रियामा सहभागी नगराउँदा परीक्षा रद्द गर्नुपथ्र्यो, तर आफ्ना मान्छे मात्रै छानेर राखिएको छ,’ उनले भनिन् । यसविरुद्ध आन्दोलन गर्ने उनले बताइन् ।
FACEBOOK COMMENTS