काठमाडौँ । अस्थायी संरक्षण र वैकल्पिक स्याहारको आवश्यकता भएका बालबालिकाहरुको सर्वोत्तम हितमा काम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले एसओइस बालग्रामसँग सम्झौता गरेको छ ।
बुधबार महानगर उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कार्यपालिका सदस्य महेश नेपालीको रोहवरमा सामाजिक विकास विभागका प्रमुख समिक्षा निरौला र बालग्रामका राष्ट्रिय निर्देशक डा. गंगाबहादुर गुरुङ्ले हस्ताक्षर गरेका हुन् ।
बालग्रामका राष्ट्रिय निर्देशक गुरुङ्ले, ५३ वर्षदेखि बालबालिकाको संरक्षणमा काम गर्दै आएको संस्थाले महानगरपालिकासँग सहमति गरेर पहिलो पटक स्थानीय सरकारसँग सहकार्य गरेको बताए । वार्षिक २० हजार भन्दा धेरै बालबालिकाका काम सेवा गर्दै आएको बताउँदै उनले, बालबालिकाको सर्वोपरि हित बढाउनु नै सहकार्यको मुख्य ध्येय रहेको बताए ।
महानगरपालिका क्षेत्र भित्र जोखिममा परेका वा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, पुन:स्थापना, वैकल्पिक हेरचाह, परिवार सहयोग, सामाजिक सुरक्षा, सामाजिकीकरण लगायत सेवाका लागि समझादारी भएको हो ।
अभिभावक गुमाएका, गुमाउने जोखिममा रहेका, वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकाको जोखिम र आवश्यकता मूल्याङ्कनका आधारमा कार्यक्रम सञ्चालन हुनेछ । यसका लागि दुवै पक्ष सम्मिलित समाजसेवी बालमनोविज्ञ सहितको संयुक्त टोलीले दिएको प्रतिवेदनलाई आधार मानिनेछ ।

यसरी जोखिममा देखिएका तर, जैविक परिवारसँग रहने वा बस्ने अवस्था रहेमा परिवार सबलीकरण कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, पोषण र जीविकोपार्जन सहायता प्रदान गरेर जैविक परिवारको सरंक्षणमा रहने व्यवस्था मिलाउनेछ । जैविक परिवारसँग रहने वा बस्ने अवस्था नरहेमा पालनपोषण, शिक्षा, स्वास्थ्य लगायतको सुविधा सहित एसओएसद्वारा सञ्चालित परिवारमा आधारित हेरचाह कार्यक्रममा रहने व्यवस्था मिलाइनेछ ।

अन्य कुनै बालगृहको संरक्षणमा रहेका १४ वर्षभन्दा माथिका बालबालिकाको हकमा महानगरपालिकाको शिफारिसमा एसओएसले सञ्चालन गरेका व्यावसायिक तालिम केन्द्रमा उपलब्ध तालिमका विषय र सिट संख्याको आधारमा प्रशिक्षण प्रदान गरिनेछ । उद्धार गरिएका, अभिभावक गुमाएका र जैविक बाबुआमा पहिचान नभएका बालबालिकाको अस्थायी संरक्षणका लागि एसओएसको अस्थायी संरक्षण गृहमा वार्षिक १० जनाका लागि कोटा व्यवस्था गरी सेवा उपलब्ध गराउनेछ । यदि परिवार फेला नपरेमा वा परिवारमा फर्काउन बालबालिकाको सर्वाेत्तम हित अनुकुल नभएमा हुने नदेखिएका बालकालिका, अपाङ्गताका कारण विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरुलाई स्वास्थ्य, शिक्षा, स्याहारलगायत सेवा प्रदान गरिनेछ ।
वैकल्पिक स्याहार, बाल संरक्षण लगायतका विषयमा पृष्ठपोषण, नियमित समीक्षा बैठक, तालिम, बाल गृहहरूका हेरचाहकर्ता र व्यवस्थापकका लागि तालिम सञ्चालन गरिनेछ ।

यसरी प्रदान गरिएको सेवाका बारेमा दोस्रो पक्ष (बालग्राम) ले पहिलो १५ दिनमा एक पटक र त्यसपछि हरेक ६ महिनामा बालबालिकाको स्थिति प्रतिवेदन बुझाउनु पर्नेछ । दोस्रो पक्षको संरक्षणमा रहेको बालबालिकाको घटना व्यवस्थापन गर्दा आवश्यक कागजात, अभिलेखीकरण तथा पारिवारिक भेटघाट गराउन आवश्यक पर्ने समन्वय महानगरपालिकाले गर्नेछ । यो समझदारी आजैदेखि आउँदो ५ वर्षसम्मका लागि भएको बताइएको छ ।

FACEBOOK COMMENTS