काठमाण्डौ, साउन २८ – भदौ १६ गतेदेखि पनि हवाई उडान सञ्चालन गर्न नदिए पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संगठनसहित सामूहिक आन्दोलनमा जान छलफल भइरहेको व्यवसायीले बताएका छन् । सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायात र नियमित उडान सुचारु गर्ने निर्णय गर्दा कम्पनीहरूले स्वास्थ्य सुरक्षा निर्देशिकाअनुसार तयारी गरिरहेका थिए । कोरोना संक्रमण बढेको कारण सरकारले सोमबार पूर्वघोषित मिति सार्दै भदौ १५ सम्म लामो दुरी, यातायात, हवाई सेवा र शिक्षण संस्था नखोल्ने निर्णय गरेको थियो ।
पाँच महिनादेखि व्यवसाय ठप्प रहँदा कम्पनी चलाउन गाह्रो परिसकेको हवाइ सेवा व्यवसायीहरूले बताएका छन्। ’हामी विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर चलाउँछौं। कोरोना भनेर सधैं बन्द गरेर कसरी चल्छ,’ हवाई सेवा संचालक संघसम्बद्ध एक व्यवसायीले भने, ’सरकारबाट कुनै सचेतता अपनाइएको पाइएन। महिनौँ बितिसक्यो सरकारले नाका कडाइ गर्नुका साथै व्यवसाय चलायमानका लागि विकल्प खोज्नु पर्छ।’
विकल्प नखोजी सधैं डराएर बस्दा निजी क्षेत्रको अवस्था त झन् धरासायी हुने देखिएको उनले बताए। ’भदौ १५ सम्म उडान बन्द गर्ने कुरामा हामीलाई कुनै चिन्ता छैन। तर १५ गतेपछि पनि यसैगरी मिति सार्ने काम भइदियो भने हामीले आन्दोलनमा निस्कनुको विकल्प देखिँदैन,’ उनले भने ।
पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंगठनले मिलेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सचेतना पत्र दिन लागिएको उनले बताए ।
टिकट बिक्री पनि उत्साहजनक तवरले भइरहँदा कम्पनीहरूले आफ्ना कर्चारीलाई स्वास्थ्य सुरक्षा निर्देशिका अनुसार तालिम र आवश्यक सामाग्री दिइसकेका थिए। उडान मिति सर्ने भएपछि अब अग्रिम बुकिङ भएका टिकट मिति सार्ने र पैसा फिर्ता लिन चाहने यात्रुलाई दिनैपर्ने भएको छ ।
उडान मिति सरेपछि टिकट व्यवस्थापनमा अन्योल रहेको वायुसेवा कम्पनीका सञ्चालकहरू बताउँछन् । भदौ १५ सम्मका लागि मिति सारिए पनि १६ गतेबाट निश्चितरूपमा सञ्चालनमा आउँछ भन्ने ग्यारेन्टी छैन।
कम भाडादरमा टिकट बुकिङ सँगै चितवन र पोखराका लागि आकषक टुर प्याकेज सार्वजनिक गरेको निजी वायुसेवा कम्पनी बुद्ध एयरले सरकारको पछिल्लो निर्णय सँगै टिकट रिसेडुलिङ र रिफण्डीङको लागि तयार रहेको जनाएको छ ।
यात्रुले कम्पनीबाटै फिर्ता पाउन सक्ने र इ(बैंकिङबाट बुकिङ गरेका यात्रुले सम्बन्धित कम्पनीमार्फत फिर्ता लिन सक्ने व्यवस्था गरिएको सूचना बुद्धले वेबसाइटमा राखेको छ ।
FACEBOOK COMMENTS