रसुवा । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आएको छ ।
मितेरी बेलिब्रिज पुलको निर्माण पुरा भएको र निरीक्षण समेत पास भएकाले आजदेखि सीमापार ढुवानीमा संलग्न चालक र यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइएको हो ।
यसअघि चीनियाँ पक्षले सूचना प्रकाशित गर्दै सबै सम्बन्धित पक्षलाई आवश्यक तयारी पूरा गरी सवारी साधन लोड लगायतका अग्रिम तयारी गर्न आग्रह गर्दै आजदेखि आवतजावत सुरू हुने जानकारी गराएको थियो ।
नाकाबाट आयात निर्यातको गतिविधि भने जनवरी १ अर्थात् आगामी बिहीबारदेखि सुरू हुने बताइएको छ ।
जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि अर्को वर्षको जनवरी ८ सम्म आधा दिन मात्र सीमापार आवागमनका लागि प्रयोग हुने र यस अवधिमा चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवै तर्फबाट आवागमन नियन्त्रण गरिने चिनियाँ पक्षले जानकारी दिएको छ ।

२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देश बीचको सडकसम्पर्क बिच्छेद भएको थियो । उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको हो ।

FACEBOOK COMMENTS