काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता तथा निवर्तमान सांसदहरू सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठले फागुन २१ गतेको निर्वाचन लड्न नपाउने भएका छन् ।
तोकिएका समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले उनीहरूलाई कालोसूचीमा राखेको छ । यसरी कालोसूचीमा परेकाहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका हुन् ।
यो सूचीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सन्तोष चालिसे र भीमसेनदास प्रधान, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई, तत्कालीन माओवादी नेतृ ओनसरी घर्ती र पम्फा भुसाल तथा साझा नेपालका मिलन पाण्डे लगायतको नाम पनि छ ।
निर्वाचन खर्च विवरण नबुझाएको भन्दै यी सबै नेताहरूलाई आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम १५/१५ हजार रुपैयाँ जरिवाना समेत तिराएको थियो । तर, कतिपयले जरिवाना तिरेर पनि खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले कालोसूचीमा राखेको जनाएको छ । निर्वाचन कानुन अनुसार आयोगले गरेको निर्णय नमान्ने व्यक्तिहरू आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारका लागि योग्य हुने छैनन् ।
उम्मेदवारहरूले निर्वाचन आयोगका जिल्ला र प्रदेश कार्यालय वा आयोगको केन्द्रीय कार्यालयमा निर्वाचन खर्च सार्वजनिक गरेको विवरण बुझाउनुपर्ने व्यवस्था छ । मतदाताले समेत देख्नेगरी सामाजिक सञ्जाल, सूचना पाटी, पाटीपौवा वा सार्वजनिक स्थलहरूमा कहाँ उक्त विवरण सार्वजनिक गरिएको हो त्यसको प्रमाण समेत उनीहरूले आयोगलाई बुझाउनुपर्ने स्पष्ट पारेको थियो ।

FACEBOOK COMMENTS