काठमाडौं । नेपालमा आगामी आईसीसी पुरुष टी– २० विश्वकपको ट्रफी टुर कार्यक्रम ५–७ जनवरीसम्म हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी केही दिनपछि सार्वजनिक गर्ने जनाएको छ ।
टी– २० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याउन लागिएको हो । नेपालमा यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो ।
भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु)बाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको छ । आईसीसी टी– २० विश्वकप ७ फेब्रुअरीदेखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुँदै छ ।
नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रोपटक विश्वकप खेल्दै छ । समूह ‘सी’मा नेपाल, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालका सबै खेल मुुम्बईस्थित वान्खडे क्रिकेट मैदानमा हुनेछ ।

FACEBOOK COMMENTS