काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालि.बीच बैंकका कर्मचारी तथा खातावाल ग्राहकलाई स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले नेशनल प्याथ ल्याबका विभिन्न शाखामा उपलब्ध प्याथोलोजी तथा स्वास्थ्य परीक्षण सेवामा उल्लेखनीय छुट प्राप्त गर्नेछन् ।
सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी र खातावाल ग्राहकले प्याथोलोजी ल्याबका विविध सेवामा १० प्रतिशतदेखि ५० प्रतिशतभन्दा बढी छुट पाउने व्यवस्था गरिएको छ । यसमा विभिन्न हेल्थ प्याकेजहरू समेत समावेश गरिएको छ । साथै, क्याम्पेन तथा निश्चित सर्तहरूअन्तर्गत नि:शुल्क होम डेलिभरी सेवाको सुविधा पनि उपलब्ध गराइने जनाइएको छ, जसले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पौष १४ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालिको तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गर्नुभएको हो । सम्झौताले बैंक र स्वास्थ्य सेवा प्रदायकबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी तथा खातावाल ग्राहकहरूले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा.लि.का नक्साल, महाराजगञ्ज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घाखाँची तथा महेन्द्रनगरमा सञ्चालित शाखाहरूबाट उच्चस्तरीय स्वास्थ्य परीक्षण तथा उपचार सेवामा लाभ लिन सक्नेछन् ।
FACEBOOK COMMENTS