काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ भव्यताका साथ सम्पन्न भएको छ । पुष १२ र १३ गते काठमाडौंमा भएको यो क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु–साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरू तथा युवा पेशेवरहरूलाई बृहत् जानकारी प्रदान गरिएको थियो ।
आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा दोस्रो पटक यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेस सम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू, मक आईक्यान कन्फ्रेन्स जस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा आयोजक क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारी, उपाध्यक्ष तथा आईएसप्यानका प्रमुख कार्यकारी अधिकृत सुभाष खड्का, महासचिव चन्द्र विलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह र आईक्यानका प्रतिनिधि यश अग्रवाल थिए । क्यान महासंघले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगा जस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई महत्तवपूर्ण प्रशिक्षण प्राप्त हुने जानकारी भएको थियो ।
इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्ज एन्ड नम्बर्ज (आईक्यान) को परिचयबारे सेसन सञ्चालन गरिएको थियो, जसमा आईक्यानका प्रतिनिधि यश अग्रवालले आईक्यानको भूमिका, यसको संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिए । एपिगा नेपालका कार्यक्रम टिम लिड बिबेक सिलवाल र कार्यक्रम संयोजक उदिप बरालको नेतृत्वमा सञ्चालन गरिएको थियो । आयोजक सदस्यहरूमा प्रमोद ढुंगाना, स्वस्ती बास्तोला, अनुपम गौतम, ओम प्रकाश शर्मा, दिक्षा राउत, सञ्जिना क्षेत्री र सन्दीप कोइराला थिए ।


FACEBOOK COMMENTS