कपडा, खुद्रा पसल, रेस्टुरेन्ट व्यवसाय र विभिन्न कार्यालय करिब ३५ प्रतिशत खाली
काठमाडौँ, श्रावण ३० — काठमाडौं उपत्यकाका चोक, सार्वजनिक स्थल, पार्क आदिमा तपाईंहरूले विभिन्न उत्पादनका विज्ञापनमूलक सूचना पढ्नुभएकै होला । पछिल्लो समय तिनमा फरक सूचना थपिने क्रम बढेको छ– ‘पसल भाडामा’, ‘पसल बिक्रीमा’ र ‘कार्यालय तथा कोठा भाडामा’ ।
यी सूचना कतै व्यवसायी त कतै घरधनीहरूले राखेका हुन् । कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले लकडाउन गरेयता यस्ता व्यवसाय बन्द हुने क्रम बढेको छ ।
उपत्यकाका करिब ३५ प्रतिशत पसल तथा व्यापार व्यवसाय खाली हुँदै गएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । उपत्यकाका प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड, सुन्धारा, बानेश्वर, चाबहिललगायत क्षेत्रमा पसल खाली हुने क्रम वृद्धि भएको उनको भनाइ छ । विशेषगरी यी क्षेत्रका कपडा पसल, रेस्टुरेन्ट व्यवसाय र विभिन्न कार्यालय खाली भइरहेका छन् ।
सुन्धारा नागस्थानस्थित बस टिकट काउन्टरका सञ्चालक राजन दाहालले सटर बिक्रीमा राखेका छन् । मकालु यातायात प्रालि चलाइरहेका उनले लकडाउनसँगै लामो दूरीको सवारी नचल्ने भएपछि टिकट काउन्टरको काम रोकिएको सुनाए । ‘घरायसी कामले व्यवसाय हेर्न समय भएन । अहिले कोरोनाले गर्दा व्यवसाय ठप्प छ,’ उनले भने, ‘कसैले सटर किन्न आए समझदारीमा बिक्री गर्ने सोच छ ।’ न्युरोडस्थित किरण भण्डारीले पनि पसल भाडामा भनेर आफ्नो नम्बरसहित सूचना टाँसेका छन् । लकडाउन सुरु भएसँगै भाडामा गइरहेको उनको ६ तलाको घर खाली छ । ‘न्युरोडजस्तो व्यापारिक क्षेत्रमा पसलका लागि भाडामा गएको छैन । अरू स्थानको अवस्था कस्तो होला रु’ उनले भने, ‘अहिले मानिस व्यवसायमा लगानी गर्न डराइरहेका छन् । न्युरोडमा पसलका लागि भाडामा नजानु भनेको व्यवसायको अवस्था नाजुक हुनु हो ।’
कपडा, मिठाई पसलका साथै रेस्टुरेन्टका लागि आफ्नो घर केन्द्रमा भएको उनले जानकारी दिए । पसल भाडामा लिन भनेर १र२ जनाले मात्र फोन गरेर बुझ्ने गरेको उनको भनाइ छ । ‘अबको ६ महिनासम्म के हुन्छ थाहा छैन । त्यसैले पनि भाडा कम गर्छु भन्दा पनि कोही नआउने अवस्था छ,’ उनले भने, ‘नयाँ व्यवसायी लगानी गर्न इच्छुक छैनन् । भएको पुरानै व्यवसाय धान्न समस्या छ ।’ न्युरोडस्थित रमा गृह जसलाई ‘गोलो घर’ भनेर चिनिन्छ । सरकारी भवन रहेको उक्त भवन भूकम्पले क्षति पुर्याएको थियो । अहिले उक्त भवन बनिसकेको डेढ वर्ष भइसकेको छ । श्री चेङगेजखान सप्लाई प्रालिका निर्देशक आले तामाङले उक्त भवनको भाडासम्बन्धी सबै कामको जिम्मेवारी लिएका छन् ।
‘सरकारबाट टेन्डर पास गरी भाडामा लिएर हामीले भाडामा लगाएका छौं । ६ वटा सटर र ४ वटा फ्ल्याट छन् यहाँ,’ उनले भने, ‘७ वटा भाडामा गइसकेका छन् । भाडामा लगाएको ९र१० महिना भइसक्यो । ३ वटा अझै भाडामा जान बाँकी छ ।’ तला हेरेर दुईरसाढे दुई लाख रुपैयाँ महिनाको भाडा रहेको उनले बताए । ‘भित्रपट्टि फिनिसिङ गर्न बाँकी रहेकाले भाडामा जान ढिलो भएको हो,’ उनले भने, ‘अहिले कोरोनाका कारण पनि मानिसले रुचि कम देखाएका हुन् जस्तो लाग्छ ।’
खिचापोखरीस्थित जितनारायण डंलोलले २र३ महिनादेखि पसल भाडामा भनेर सूचना टाँसेका छन् । लकडाउन सुरु भएपछि खाली भएको कोठा भाडामा दिन सूचना टाँसिएको उनले बताए । ‘महँगोमा भाडामा जाने अवस्था छैन । सस्तोमा लिन आउने पनि कोही छैनन्,’ उनले भने, ‘व्यवसाय सबै धरापमा छन् । लगानी गरे त्यो पनि खेर जाने डरले नयाँ कोही आएनन् ।’
व्यवसाय ठप्प भएको बेला भाडा बुझाउन नसकेर पसल छाडेर जाने क्रम बढेको व्यवसायीहरूको भनाइ छ । घरबेटीले भाडा नघटाउने र व्यापारीहरूको व्यापार नहुने भएर सटर छाडेर जाने क्रम बढेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवालले बताए ।
‘न्युरोड र बानेश्वरजस्तो व्यापारिक केन्द्रमा एउटा सटरकै २र३ लाख रुपैयाँ भाडा छ,’ उनले भने, ‘यसका लागि सरकारले नै ठाउँ, क्षेत्रफल हेरेर वैज्ञानिक भाडा तोकिदिए व्यवसायीहरूलाई राहत मिल्छ ।’ घरबेटीहरूले आफ्नो इच्छाअनुसार भाडा लिइरहेका छन् । लकडाउनपछि व्यापार नहुने र भाडा तिर्न सक्ने अवस्था नभएकाले उपत्यकाभित्र ३०र३५ प्रतिशत पसल खाली भएको उनले बताए ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS