काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि ८२ करोड रुपैयाँको ८२ लाख कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइने छ । आईपीओमा माघ ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले पहिलो चरणमा स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमा १ करोड कित्ता स्थानीयका लागि, १० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ । ५ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय र मेरो सेयर मार्फत आवेदन दिन सकिन्छ ।

FACEBOOK COMMENTS