काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सुरु गरेको कल सेन्टरले मतदाता सरोकारवालाका विभिन्न जिज्ञासाको सम्बोधन गरिरहेको छ । माघ ५ गतेदेखि आयोग परिसरमा सुरु भएको कल सेन्टरमा आइतबारसम्म ७९२ जनाले जिज्ञासा राखेका छन् ।
आयोगमा प्राप्त प्रश्नमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी छन् । यस अवधिमा मतदाता नामावलीका विषयमा ४२० जिज्ञासा सम्बोधन भएका छन् । यस्तै निर्वाचन आचारसंहिताका विषयमा ७२ प्रश्नको सम्बोधन भएका छन् । मतदाता शिक्षासम्बन्धी ३६ र अन्य २६४ प्रश्नको जिज्ञासा सम्बोधन भएका छन् । निर्वाचनलाई लक्षित गरेर आयोगले कल सेन्टरमार्फत मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइ गरिरहेको छ ।
हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कल सेन्टर सञचालनमा रहेको छ। यो समय क्रमशः थपिँदै लगिने आयोगले जनाएको छ । निःशुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्न सक्नेछन्। एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरु होल्डमा रहनुपर्ने छैन । निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म कल सेन्टर सञ्चालनमा रहने छ ।
FACEBOOK COMMENTS