राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान, स्वाभिमान र समानतासँगै अब विकासको लागि लडाई लड्नुपर्ने बताएका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति चोकमा बुधबार आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि लडाई लड्यौँ, अब मधेशले विकासका लागि लडाई लड्नु आवश्यक छ ।’
केन्द्र सरकारले मधेशबाट अत्यधिक राजश्व लगेपनि मधेशलाई विकास बजेट अत्यन्त कम आउने गरेको चर्चा गर्दै अध्यक्ष यादवले विगतमा सक्षम जनप्रतिनिधि नचुनिएका कारण आवाज उठाउन नसक्दा सप्तरी ३ को निर्वाचन क्षेत्र विकासमा पछाडि परेको बताए ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले सप्तरी २ बाट आफुले चुनाव जितेपछि शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा उल्लेखनीय कार्य गरेको चर्चा गर्दै भने ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालन, गजेन्द्रनारायण सिंह अस्पतालमा कायापलट हुने गरी भौतिक पूर्वाधार निर्माण, महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा इन्जिनियरिङ्ग भवन निर्माण, अस्पताल परिसरमा नर्सिङ्ग भवन, विद्यालयहरुमा शैक्षिक भवन, रुपनी–राजविराज सडक, राजविराज–छिन्नमस्ता–न्यौर सडक, राजविराज–हनुमाननगर–भारदह सडक निर्माण, पालिकाहरुलाई एम्बुलेन्स लगायतका कामहरु कामहरु अगाडि बढाएँ, दुर्भाग्य नै भन्नुपर्छ मेरो अनुपस्थितिमा ती कार्यहरु अगाडि बढाउनुको साटो भाँजो हाल्ने काम भयो ।’
विगतमा मधेश र मधेशी जनतामाथि भइरहेको चरम विभेद एवम् दमन विरुद्ध मधेशी जन अधिकार फोरम नेपालको नेतृत्वमा सङ्घर्ष भएको चर्चा गर्दै फोरमसँगको सम्झौतापछि गाउँगाउँमा नागरिकता टोली खटाएर नागरिकता वितरण गरिएको उनले बताए । मधेशी अर्थात कालो चेहरालाई मर्सिया, धोती जस्ता शब्दले अपमानित गर्ने गरेकोमा अहिले मधेश प्रदेश नै बनेको चर्चा गर्दै जसपा अध्यक्ष यादवले भने ‘अब मधेशीलाई भेदभाव वा दुव्र्यवहार गर्न पाउँदैन गर्वले मधेश प्रदेशको वासिन्दा भन्न पाएका छन् ।’

मधेश आन्दोलनकै उपलब्धीका कारण मधेशी, महिला, दलित, मुस्लिम, आदिवासी, जनजाती, पिछडावर्ग लगायत विभेदमा पारिएका समुदायको सहभागिताको सुनिश्चितता भएको उनले बताए । अझैँ थुप्रै अधिकार प्राप्त गर्न बाँकी रहेकोले त्यसकालागि मधेशी जनता मधेशको पक्षमा एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने ‘मधेशी जनताले पाएको अधिकार पनि खोस्नका लागि मधेशमा भ्रम छर्ने काम भइरहेकोले जसपा नेपालका उम्मेदवारहरुलाई भारी मत दिएर जिताएर पठाउन आग्रह छ ।’

जसपा नेपालका नेता एवम् पूर्वमन्त्री रेणुकुमारी यादवले आफु शिक्षामन्त्री हुँदा अडानका साथ विधेयक ल्याएर पारित गराएकै कारण सरकारी विद्यालयमा अध्ययन गरेका तथा दलित, मुस्लिम समुदायबाट समेत छात्रबृतिमा डाक्टरी पढ्ने अवसर पाएको चर्चा गरिन् ।

FACEBOOK COMMENTS