काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खगेन्द्र सुनारको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधेको स्पष्ट गरेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले नेता सुनारको रास्वपामा आउनु अघिको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक- सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसकेको बताउदै सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उनले क्षमायाचना गर्दै आत्मलोचना समेत गरेको बताएका छन् ।
महामन्त्री बुर्लाकोटीले भनेका छन्- ‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक- सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको छ। उहाँले सार्वजनिक रूपमै आफू “शाकाहारी भएको, कुनै पनि पशु-पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको” प्रष्ट पारिसक्नुभएको छ। सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मलोचना समेत गर्नुभएको छ ।’
उनले पार्टीले उम्मेदवार सुनारलाई सो सम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको बताएका छन् । साथै सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतिकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त रहेको उनले बताएका छन् । बुर्लाकोटीले रास्वपाको विधान र प्रस्तावनाले ‘नेपालको इतिहास, सनातन सभ्यता, तथा धार्मिक-सांस्कृतिक विविधतामा आधारित सह-अस्तित्व र पारस्परिक सम्मान” लाई आफ्नो मूल मर्म मानेको छ। हामी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र “राष्ट्रिय एकता” लाई अक्षुण्ण राख्न सधैं कटिबद्ध रहेको स्पष्ट गरेका छन् ।
२- गृहमन्त्री ओमप्रकाश अर्यालले विधिको शान्ति, सुशासन, सामाजिक न्याय, समावेशी विकास र विधिको शासन सुदृढ गर्नु नै शहीदहरूप्रतिको सच्चा सम्मान भएको बताएका छन् । राष्ट्रिय शहीद दिवस, २०८२ को अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती स्मारक, जगडोलमा आयोजना भएको जेन-जी सुशासन योद्धा र अमर प्रहरीहरुको विवरण सहितको शहीद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले राष्ट्रको लागि विभिन्न समयमा जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रको शान्ति सुरक्षा तथा नागरिकको अधिकारको संरक्षणमा कुनै सम्झौता नगरिने बताउँदै मन्त्री अर्यालले आजको पुस्ताले शहीदहरूको आदर्शबाट प्रेरणा लिएर इमानदारी, कर्तव्यनिष्ठा र देशप्रेमका साथ अघि बढी आफ्नो आचरण, निर्णय र कर्मबाट नै शहीदहरूको बलिदान सार्थक बनाउनुपर्नेमा जोड दिए । वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरु स्थानीय तहका जनप्रतिनिधीहरु शहीद परिवार लगायतको उपस्थिती रहेको थियो ।

साथै उनले रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सदभाव बिगार्ने तत्वहरूको पक्षमा छैन र नरहको बताउदै रास्वपाका उम्मेदवारहरू केवल चुनाव जित्नका लागि मात्र होइन, भोलिको संसदमा संयमित, मर्यादित र देशको विधि-विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिनेमा विश्वास दिलाउन चाहेको उल्लेख गरेका छन् ।

३- म्यानमारमा सञ्चालिन अनलाइन स्क्यामिङ्ग केन्द्रहरुमा संलग्न चार जना नेपाली नागरिकलाई नेपाल फर्काइएको छ । बैंककस्थित नेपाली दुताबास अनुसार थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याई शुक्रबार नेपाल एयरलाईन्सको उडान मार्फत उनीहरुलाई नेपाल फर्काइएको हो । नेपाल फर्काईएका चार जनामध्ये एक जना महोत्तरी जिल्ला, एक जना नुवाकोट जिल्ला र दुई जना दाङ जिल्लाका भएको दुताबासले जानकारी दिएको छ ।

चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका र तीमध्ये एक जनाले थाईल्याण्डमै स्नातक तहको अध्ययन गरी होटलमा रिसेप्सनिष्टको रूपमा कार्यरत रहेका थिए । धेरै आम्दानीको प्रलोभनमा परी म्यानमार गएको उनले बताएका छन् । त्यस्तै दाङ जिल्लाका अर्का एक जनाले दाङ जिल्लाकै एक सरकारी कार्यालयमा केही वर्ष कम्प्युटर अपरेटरको रूपमा काम गरेको अनुभव रहेको बताएका छन् । उनीहरू सबै थाइल्याण्डमा डाटा इन्ट्रि अफिसरको रूपमा काम गर्ने भनिएर नेपालबाट ल्याइएका तर थाइल्याण्ड आइपुग्नेबित्तिकै जबर्जस्ती म्यानमार पुर्याइएको बताइएका छन् ।

यस घटनाले उच्च शैक्षिक योग्यता हासिल गरेका नेपाली नागरिकहरू समेत सामाजिक सञ्जाल, साथीभाइ, आफन्त तथा आकर्षक विज्ञापनको ललाईफकाईमा परी धेरै कमाउने लोभमा फस्ने वा फसाइने गरेको देखिएको दुताबासले जनाएको छ । दैनिक रूपमा त्यस्ता स्थानमा फसेका नेपाली नागरिक वा उनीहरूका परिवारजनबाट उद्धारको लागि अनुरोध गर्दै राजदूतावासमा सम्पर्कमा आउने गरेको बताउदै दुताबासले उनीहरुको उद्धारको लागि आवश्यक कन्सुलर सेवा प्रवाह गरिरहेको जनाएको छ ।
४- युइएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ मा पुग्नु अघि हुने प्लेअफको ड्र सम्पन्न भएको छ । शुक्रबार सम्पन्न ड्र मा प्लेअफमा पीएसजीले मोनाकोको सामना गर्ने भएको छ । त्यस्तै रियल म्याड्रिडले बेनिफिका, न्यूक्यासलले क्वाराबाग, इन्टर मिलान बोडो, युभेन्टसले गालाटासारे, एटलान्टाले बोरुसिया ड्रोटमण्ड, एटलेटिको म्याड्रिडले क्लब ब्रुगे र बायर लिभरकुसेनले ओलम्पियाकोसको सामना गर्ने भएको छ ।
अब प्लेअफका खेलहरु होम एण्ड अवेका आधारमा खेलिने छन् । जस अनुसार फेब्रुअरी १७-१८ मा पहिलो लिग र फेब्रुअरी २४-२५ मा दोस्रो लिग खेलिने छ । त्यसपछि फेब्रुअरी १७ मा राउण्ड १६ को ड्र हुने छ । यसअघि लिग चरणमा शिर्ष स्थानमा रहेका ८ क्लब राउण्ड १६ मा पुगिसकेका छन् ।
जसअनुसार आर्सनल, बायर्न म्युनिख, लिभरपुल, टोटनह्याम, बार्सिलोना, चेल्सी, स्पोर्टिंग सिपि र म्यानचेस्टर सिटी राउण्ड १६ मा पुगिसकेका छन् । त्यसैले, थाइल्याण्ड जाने नाममा म्यानमार, कम्बोडिया तथा लाओसको गोल्डेन ट्रायङ्गल क्षेत्रमा सञ्चालनमा रहेका स्क्यामिङ्ग केन्द्रहरूमा पुर्याइने जोखिम उच्च रहेको हुँदा राम्रो कमाइको प्रलोभनमा नपर्न दुताबासले आग्रह समेत गरेको छ ।
५- नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा महाराज गुरूङ चयन भएका छन् । शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई अध्यक्ष बनाएको हो । यसअघि अध्यक्ष रहेका क्षितिज थेवे केन्द्रीय कमिटी सदस्य निर्वाचित भएपछि उनले नेतृत्व हस्तान्तरण गरेका हुन् । माथिल्लो कमिटीमा निर्वाचित भएपछि तल्लो कमिटीको पद अनिवार्य रिक्त हुने एमालेको वैधानिक व्यवस्था अनुसार युवा संघले नयाँ अध्यक्ष चयन गरेको हो । क्षेवे फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार समेत बनेका छन् । अध्यक्षमा चयन भएका गुरूङ यसअघि संघको उपाध्यक्ष थिए ।
६- नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसको विकास र अधिकारका लागि कांग्रेस नै मुख्य शक्ति भएको दाबि गरेका छन् । शुक्रबार धनुषा-४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले नेपालको सबैभन्दा ठुलो मधेसवादी पार्टी नै कांग्रेस भएको दाबी मधेसको विकास र अधिकारका लागि लड्ने बताएका हुन् । काँग्रेसलाई नयाँ बनाएर चुनावमा आएको बताउदै सभापति थापाले काँग्रेसका सबै उम्मेदवारलाई मधेसबाट जिताउन आग्रह गरे ।
उनले काँग्रेसका नेता कार्यकर्तालाई अन्य पार्टीका नेता कार्यकर्तालाई केहि नभन्न निर्देशन दिदै काँग्रेस देश जोड्ने शक्ति भएकोले आफ्ना कुरा राखेर चुनाव प्रचार गर्न निर्देशन समेत दिए । उनले यो पटकको कांग्रेस फरक सोच र शैलीका साथ आएको भन्दै पार्टीभित्र कुनै गुटबन्दी नरहेको स्पष्ट गरे । रुख चिन्ह लिएर उम्मेदवार बनेपछि व्यक्तिगत असन्तुष्टि बिर्सेर एक ढिक्का हुन उनले आग्रह गर्दै सभापति थापाले सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्ने बताए ।
७- न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ । न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेका हुन् । लक्सनले भनेका छन्- ‘हामीले शान्ति बोर्डमा यसको हालको रूपमा सामेल नहुने निर्णय गरेका छौं ।’ ट्रम्पले गाजाको लागि शान्ति बोर्ड स्थापना गरेका छन् ।
गाजामा व्यापक शान्ति पहलको एक भागको रूपमा शासन, पुनर्निर्माण र लगानीको निरीक्षण गर्न यो बोर्ड स्थापना गरिएको हो । ट्रम्पले धेरै देशका नेताहरूलाई यस बोर्डमा सामेल हुन आमन्त्रित गरेका छन् । मध्यपूर्वी देशहरू टर्की, इजिप्ट, साउदी अरेबिया र कतार, साथै इन्डोनेसिया र पाकिस्तान, शान्ति बोर्डमा सामेल भएका छन् ।
८- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थेबेले भावी प्रधानमन्त्रीको हैसियतमा कालापानी र लिपुलेकबारे धारणा आवश्यक रहेको बताएका हुन् ।
उनले भने- ‘हुनैवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईँको आधिकारिक स्टेटमेन्ट के हो ?’ थेबेले निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित एमाले जनतामाझ गएको बताए । थेबे एमालेबाट ताप्लेजुङमा प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।
९- नेपाली टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलिया जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौंथो भएकी छन् । अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिसम तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा १४ वर्षीया शिभाली जापानी खेलाडी आयोइ योसिदासँग सोझो सेटमा पराजित भएकी हुन् ।
यसअघि, सेमिफाइनलमा शिभाली अस्ट्रेलियाकी मुसेम्मे सिलेकसँग ६–१ र ६–४ ले पराजित भएकी थिइन् । उनले ५ खेल खेल्दै २ जित र ३ हार व्यहोरेकी छन् । उनले समूह चरणमा चिनियाँ खेलाडी र अष्ट्रेलियन खेलाडीलाई पराजित गरेकी थिइन् । यस प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट ८ ब्वाइज र ८ जना गर्ल्स खेलाडीले सहभागी गराइएको थियो ।
१०- राष्ट्रपति रामचन्द्र पौडेलको माघ १८ गतेदेखि २१ गतेसम्म हुने जापानको औपचारिक भ्रमण बारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार परराष्ट्र सचिव अमृतबहादुर राईले राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्ने बताएका छन् । भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
मन्त्रालयले राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने परराष्ट्र सचिव राईले जानकारी दिएका छन् । राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन् । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै, जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जानकारी इद्येको छ । भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जानकारी दिएको छ ।
११- म्याग्दीबाट प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन् । म्यादीमा चुनाव प्रचारको क्रममा पुनले पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति धोका दिएको हुने बताउदै पैसामा बिक्ने मान्छे सिधै नर्क जाने बताएका हुन् । पुनले भनेका छन्- ‘दुईचार हजार, पाँचसात हजार वा आठ दश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधा नर्कमा जान्छ । किनभने उसले भविष्यको हाम्रो छोरा नातिलाई सिधा धोका दिएको हुन्छ । अहिले पैसामा बिक्नु भनेको छोरा-नातिले दुःख पाउनु हो ।’
उनले पैसामा मत बेच्दा आउँदो पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन् । ‘छोरा-नातिको श्राप लाग्छ । पैसामा बिक्ने मान्छे श्राप लागेर सिधा नर्कमा जान्छ र केके गरेर कुटाइ खान्छ ।’ पुनको चुनाव प्रचारको शैली अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय समेत बनेको छ । उनले अहिले आफु स्वतन्त्र उठेपनि चुनाव जितेमा युवाहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
१२- सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहसँगै गएका दिनेश सिटौला अचानक बेहोस भएपछि उपचारका लागि काठमाडौं लागिएको छ । बालेनको टोली अछामको मंगलसेनतर्फ जाँदै गर्दा शुक्रबार बिहान करिब ९: ३० बजे बाटोमा चिया खान गाडी रोकिएको थियो ।
अछामका रास्वपा उम्मेदवार भूपदेव शाहको घर नजिकै रहेको सो स्थानमा गाडीबाट ओर्लिन लाग्दा सिटौला अचानक बेहोस भएर ढलेका थिए । घटनापछि उनलाई तत्काल अछाम जिल्ला अस्पताल पुर्याइएको थियो । सिटौलाको टाउकोमा गम्भीर चोट लागेकाले बताइएको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएपछि उनलाई सेनाको हेलिकप्टरबाट सुर्खेत र त्यहाबाट सेनाको जहाजबाट काठमाडौं लागिएको हो ।
१३- अमेरिकी विदेश मन्त्रालयले वरिष्ठ इरानी अधिकारीहरू र उनीहरूका परिवारहरूलाई संयुक्त राज्य अमेरिकामा उनीहरूको बसोबासको विशेषाधिकार खारेज गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सो निर्णय बारे जानकारी दिदै वरिष्ठ इरानी अधिकारीहरू र उनीहरूका परिवारहरूलाई संयुक्त राज्य अमेरिकामा उनीहरूको बसोबासको विशेषाधिकार खारेज गरेको बताएको हो ।
मन्त्रालयले विज्ञप्तिमा भनेको छ- ‘इरानी जनता आफ्नो आधारभूत अधिकारको लागि संघर्ष गरिरहेको बेला, अमेरिकी विदेश सचिव मार्को रुबियोले यस हप्ता संयुक्त राज्य अमेरिकामा वरिष्ठ इरानी अधिकारीहरू र उनीहरूका परिवारहरूको बसोबासको विशेषाधिकार खारेज गर्न कारबाही गरेका छन् ।’ मन्त्रलायले इरानी शासनको क्रूर दमनबाट लाभ उठाउनेहरूलाई अमेरिकाको आप्रवासन प्रणालीबाट लाभ उठाउने कुनै अधिकार नभएको उल्लेख गरेको छ ।
गत हप्ता, संयुक्त राज्य अमेरिकाको एटलान्टास्थित एमोरी विश्वविद्यालयले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीकी छोरीलाई निष्कासन गरेको थियो । एटलान्टाको एमोरी विश्वविद्यालयमा क्यान्सर अनुसन्धान विभागमा काम गर्ने फातिमा अर्देशिर लारिजानी इरानी वरिष्ठ सचिवकी छोरी थिइन् ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २० हजार ५ सयले घटेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४० रुपैयाँले घटेर तोलाको ७०६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ७५०५ रुपैयाँमा कारोबार भएको थियो ।
१५- प्रधानमन्त्री सुशिला कार्कीले शहिद स्मारक पुगेर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । उनले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूप्रति नमन व्यक्त गरेकी छन् ।
१६- युरोपेली संघले इरानको अर्धसैनिक क्रान्तिकारी गार्ड कोर्प्सलाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेको छ । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले विदेशमन्त्रीहरूले यस निर्णयमा सर्वसम्मतिले सहमति जनाएको बताएकी छिन् । उनले आफ्नै हजारौं जनतालाई मार्ने कुनै पनि शासन आफ्नै विनाशतिर बढिरहेको टिप्पणी गरेकी छन् । यसअघि युरोपले १५ इरानी अधिकारीहरूमाथि प्रतिबन्ध लगाइएको थियो ।
यसअघि, २७ राष्ट्रको समूहले प्रदर्शनकारीहरू विरुद्ध हिंसात्मक कारबाही गरेको आरोपमा क्रान्तिकारी गार्ड कोर्प्सका एक शीर्ष कमाण्डर सहित १५ इरानी अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो । कार्यकर्ताहरूका अनुसार, यो कारबाहीले अहिलेसम्म ६,३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यी कदमहरू धेरै हदसम्म प्रतीकात्मक छन्, तर तिनीहरूले इस्लामिक गणतन्त्रमाथि अन्तर्राष्ट्रिय दबाब बढाएका छन् । शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मार्ने र सम्भावित सामूहिक मृत्युदण्डको आरोपमा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सैन्य कारबाहीको धम्कीको सामना गरिरहेको छ ।
अमेरिकी सेनाले पश्चिम एसियामा युएसएस अब्राहम लिंकन र धेरै निर्देशित मिसाइल विनाशकहरू तैनाथ गरेको छ। यद्यपि, ट्रम्पले बल प्रयोग गर्ने निर्णय गर्छन या गर्दैनन् भन्ने कुरा स्पष्ट छैन । यसैबीच, इरानले पहिलो आक्रमण गर्न सक्छ वा सम्पूर्ण पश्चिम एसियालाई लक्षित गर्न सक्छ, जसमा यस क्षेत्र र इजरायलमा रहेका अमेरिकी सैन्य अड्डाहरू पनि समावेश छन् ।
इरानले बिहीबार समुद्रमा रहेका जहाजहरूलाई चेतावनी दिदै अर्को हप्ता होर्मुजको जलडमरूमा प्रत्यक्ष गोलीबारी सहित सैन्य अभ्यास गर्ने बताएको छ । यसले जलमार्गबाट यातायात अवरुद्ध गर्न सक्छ, जसबाट विश्वको लगभग २० प्रतिशत तेल जान्छ । इरानबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन, तर यो कदमलाई विचार गर्दा हालैका दिनहरूमा युरोपको आलोचना गरेको थियो । अमेरिका र क्यानडा लगायत अन्य देशहरूले पहिले नै क्रान्तिकारी गार्डलाई आतंकवादी संगठन घोषणा गरिसकेका छन् ।
१७- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पटक-पटक व्यवस्था फेरिएपनि सत्ताको चरित्र नफेरिएको बताएका छन् । शहिद दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले अब आफुहरु शहिदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेको बताएका छन् । उनले भनेका छन्- ‘पटक-पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् ।
८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो । अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं । सहिदको सपना पूरा गर्ने बाटोमा आफूहरू अघि बढेको बताएका छन् ।’ उनले लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा रहेको बताउदै राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व आफुहरुसँग रहेको बताएका छन् ।
शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन भन्दै बालेनले भनेका छन्- ‘अब समय आएको छ- शहीदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने । यसपटकको शहीद दिवस सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको स्मरण गर्दै वहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो । फेरी कसैले शहीद बन्नु नपरोस् !’
१८- स्पेनी वैज्ञानिकहरूले प्यान्क्रियाटिक क्यान्सरको उपचार पत्ता लगाएको दाबी गरेका छन् । मुसाहरूमा लगभग छ वर्षको अनुसन्धान पछि, उनीहरूले प्यान्क्रियाटिक ट्युमरहरू पूर्ण रूपमा हटाउने तीन औषधिहरू संयोजन गर्ने नयाँ थेरापी विकास गरेको बताएका हुन् । उपचार पछि मुसाहरूमा क्यान्सर नफर्किएको उनीहरुको दाबि छ ।
यो अनुसन्धान राष्ट्रिय क्यान्सर अनुसन्धान केन्द्रका वैज्ञानिक मारियानो बार्बासिडको नेतृत्वमा गरिएको थियो । परिणामहरू जनवरी २७ मा जर्नल प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित भएका छन् । प्यान्क्रियाटिक क्यान्सरलाई सबैभन्दा खतरनाक क्यान्सरहरू मध्ये एक मानिन्छ किनभने यसको लक्षणहरू प्रायः ढिलो देखा पर्दछ । धेरैजसो अवस्थामा, रोग पहिले नै उल्लेखनीय रूपमा प्रगति भइसकेको बेला पत्ता लाग्छ । यही कारणले गर्दा केवल १० प्रतिशत बिरामीहरू पाँच वर्षसम्म बाच्ने गरेको देखिएको छ । एप्पलका सीईओ स्टीव जब्सको २०११ मा यस रोगबाट मृत्यु भएको थियो ।
यस नयाँ थेरापीमा, वैज्ञानिकहरूले एकैसाथ तीन औषधिहरू (जेमसिटाबाइन, अल-ट्रान्स रेटिनोइक एसिड र नेराटिनिब प्रयोग गरेको बताएका छन् । यसको उद्देश्य एकैसाथ धेरै क्यान्सर बाँच्ने मार्गहरू रोक्नु थियो । वैज्ञानिकहरूका अनुसार, यसले क्यान्सर कोषहरूलाई प्रतिकृति हुनबाट रोक्यो, जसले गर्दा उपचार प्रभावकारी भयो । मारियानो बार्बासिडले पहिले नै प्यान्क्रियाटिक क्यान्सर एउटै औषधिले उन्मूलन गर्न नसकिने बताएका छन् । उनी यो क्यान्सर द्रुत रूपमा अनुकूल हुन्छ, र यसलाई रोक्नको लागि, एकैसाथ धेरै मार्गहरूमा आक्रमण गर्नु आवश्यक रहेको विश्वास गर्दछन् । अनुसन्धानका अनुसार, यी तीन औषधिहरूले मिलेर क्यान्सरलाई फरक-फरक तरिकाले आक्रमण गर्छन् ।
जेमसिटाबिनले छिटो बढ्दै गएको क्यान्सर कोषहरूलाई मार्छ । अल-ट्रान्स रेटिनोइक एसिडले ट्युमर वरिपरिको सुरक्षात्मक तहलाई कमजोर बनाउछ । नेराटिनिबले ट्युमरलाई बढ्न शक्ति दिने संकेतहरूलाई रोक्छ । तीनवटै औषधिहरू सँगै प्रयोग गर्नाले क्यान्सरको प्रतिरक्षा भत्कियो र उपचार पछि क्यान्सर फर्किएन । यस अनुसन्धानमा संलग्न नभएका वैज्ञानिकहरूले रोग नफर्केसम्म प्यान्क्रियाटिक क्यान्सरको अवस्थामा यस्ता नतिजाहरू दुर्लभ हुने बताएका छन् ।
१९- पाकिस्तान र बंगलादेशबीच १४ वर्षपछि दुई देशबीच प्रत्यक्ष हवाई सेवा पुनः सुरु भएको छ । बंगलादेशको राजधानी ढाकाबाट बिहीबार पाकिस्तानको कराँचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उडानले जानकारी दिएको छ । पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार, विमान बंगलादेश एयरलाइन्सको उडान बिजी-३४१ बिहीबार साँझ ढाकाबाट कराँची पुगेको थियो । १४ वर्षमा ढाकाबाट जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो उडान भएको प्राधिकरणले जानकारी दिएको छ ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग सम्झौता गर्नु धेरै खतरनाक भएको बताएका छन् । ट्रम्पको यो बयान बेलायती प्रधानमन्त्री केयर स्टारमर चीनको भ्रमणमा रहेको बेला आएको हो । ट्रम्पको टिप्पणी प्रधानमन्त्री स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटपछि आएको हो ।
यो तीन दिने भ्रमण बेलायत र चीनबीचको सम्बन्धलाई पुनर्जीवित गर्ने उद्देश्यले गरिएको हो । दुई देशबीचको सम्झौताले व्यापार र लगानी बढाउने लक्ष्य राखेको छ । प्रथम महिला मेलानिया ट्रम्पमा आधारित वृत्तचित्रको प्रिमियरको क्रममा, जब ट्रम्पलाई चीनसँग बेलायतको विस्तारित व्यापार सम्बन्धको बारेमा उनको विचार सोधिएको थियो, उनले भने, ‘यो उनीहरूका लागि धेरै खतरनाक छ ।’ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि प्रधानमन्त्री स्टारमरले बेलायत र चीनबीचको सम्बन्ध ‘राम्रो र बलियो स्थितिमा’ रहेको बताएपछि यो बयान आएको हो । शुक्रबार, बेलायती प्रधानमन्त्रीले राष्ट्रपति सीसँगको ‘धेरै राम्रो भेटघाट’ ले उनले आशा गरेको संवादको स्तर हासिल गरेको बताए ।
FACEBOOK COMMENTS