काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक तनहुँ-१ पनि रहेको छ । तनहुँ- १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका कारण चर्चामा रहेको छ ।
तनहुँ- १ निर्वाचन क्षेत्रमा देवघाट गाउँपालिकाका सबै ५ वडा, आँबुखैरेनी गाउँपालिकाका सबै ६ वटा वडा, बन्दीपुर गाउँपालिकाका सबै ६ वटा वडा, भानु नगरपालिकाका सबै १३ वटा वडा र व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेक अन्य १२ वटा वडा समेटिएका छन् ।
निर्वाचन आयोगका अनुसार तनहुँ-१ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २६ हजार ८८२ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५३ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०८० (उपनिर्वाचन)
२०७९ मा यस क्षेत्रबाट काँग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले छोडेको यस क्षेत्रमा २०८० मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा यस क्षेत्रबाट रास्वपाबाट डा. स्वर्णिम वाग्ले विजयी भएका थिए । वाग्लेले ३४ हजार ९१९ मत पाएर शानदार जित हासिल गरेका थिए । त्यस्तै दोस्रो स्थानमा रहेका काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए । त्यस्तै एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा समानुपातिक तर्फ यस क्षेत्रमा नेपाली काँग्रेसले २० हजार १५८ मत प्राप्त गरेको थियो भने नेकपा एमालेले १६ हजार ६८३ मत प्राप्त गरेको थियो । त्यस्तै रास्वपाले १२ हजार ७७३ मत प्राप्त गरेको थियो भने तत्कालिन माओवादी केन्द्रले ७ हजार ३२६ मत प्राप्त गरेको थियो । त्यसैगरी राप्रपाले ३ हजार ५७७ मत प्राप्त गरेको थियो ।

उम्मेदवार- २०८२

यसनिर्वाचनमा तनहुँ- १ बाट दल र स्वत्रन्त्र गरेर १६ उम्मेदवार बनेका छन् । जसमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले पुन: उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली काँग्रेसले गोविन्द भट्टराईलाई फेरी उम्मेदवार बनाएको छ । त्यस्तै नेकपाबाट विद्यानाथ ढकाल उम्मेदवार बनेका छन् भने नेकपा एमालेले पूर्वमन्त्री भगवती न्यापौनेलाई उम्मेदवार बनाएको छ । त्यसैगरी राप्रपाले रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी श्रम संस्कृति पार्टीले काशिराम गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै यस क्षेत्रमा दिपक राज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निष्कर्ष

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले उपनिर्वाचनमार्फत जितेको यो क्षेत्र यस पटक अलि पेचिलो बनेको देखिएको छ । उनी रास्वपाको सरकार बनेमा अर्थमन्त्री बन्ने निश्चित प्राय नै रहेको छ । यसका लागि पनि उनले जित्नु अनिवार्य जस्तै बनेको छ । तनहुँ-१ मा यस पटक पनि डा. वाग्लेको प्रतिष्पर्धा काँग्रेसका गोविन्द भट्टराईसँग नै हुने देखिएको छ ।
देशभर रास्वपाको प्रभाव रहेको छ भने तनहुँमा यसको फाइदा डा. वाग्लेलाई हुने देखिन्छ । तर काँग्रेसका भट्टराईको पनि तनहुँ-१ मा आफ्नै प्रभाव छ । उपनिर्वाचनको भन्दा अहिलेको काँग्रेसको अवस्था फरक भइसकेकोले भट्टराई यस पटक चुनाव जित्ने दाबि गरिरहेका छन् । त्यस्तै गत उपनिर्वाचनमा एमालेबाट सहि उम्मेदवार नभएको भन्ने भएपनि यस पटक भगवती न्यापौने मैदानमा उत्रिएपछि एमालेको पनि यस क्षेत्रमा माहोल राम्रो भएको विश्लेषण भएको छ ।
त्यस्तै नेकपा, श्रम संस्कृतिलगायतका उम्मेदवार पनि रहेकाले उनीहरुको आफ्नै प्रभाव हुने देखिन्छ । यसरी हेर्दा उपनिर्वाचनमा डा. वाग्लेले प्राप्त गरेको मत यस पटक घट्ने देखिन्छ । अब वाग्लेको चुनौती उनले पाएको मत जोगाउने नै हो । यस अर्थमा यस पटक रास्वपाले मत जोगाउने र अन्य दलले ति मत आफ्नो पक्षमा पार्ने संघर्ष हुने देखिन्छ ।
डा. वाग्ले राष्ट्रिय नेता भएका कारण उनले स्थानीय भन्दा बढी राष्ट्रिय मुद्धा उठाइरहेका छन् । त्यसैले उनले बहुमतको सरकार, आर्थिक नीति र समग्र देशको विकासका कुरा चुनाव प्रचारको क्रममा गरिरहेका छन् । त्यसैले डा. वाग्लेलाई उपनिर्वाचनमा आफुले पाएको मत जोगाउने चुनौती नै तनहुँ-१ को यस निर्वाचनको प्रमुख विषय बनेको देखिएको छ ।
FACEBOOK COMMENTS