काठमाडौं, भदौ २ – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबारदेखि सेमिफाइनल खेल हुँदैछ । कोरोना महामारीपछि यस सिजन क्वाटरफाइनलदेखि च्याम्पियन्स लिगका खेलहरु सिंगल लेगमा एउटै देशमा भइरहेको छ ।
जसलाई ‘फाइनल अइट’ अर्थात ‘मिनी टुर्नामेन्ट’समेत भनिएको छ । त्यही मिनी टीर्नामेन्टको पहिलो सेमिफाइनलमा मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र जर्मन क्लब आरबी लाइपजिग भिड्दैछन् ।
यी दुई टोलीमध्ये जसले जिते पनि त्यो इतिहास बन्नेछ । दुवै टोली पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा छन् ।
स्थापनाको ५०औं वर्षको अवसरमा पीएसजी दोस्रोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो ।
यस्तै लाइपजिग भने स्थापना भएको जम्मा ११ वर्ष भएको छ । अझ जर्मन शीर्ष श्रेणीको पुटबल खेल्न थालेको जम्मा ४ वर्ष मात्र भएको छ ।
स्पानिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गर्दै पहिलो पटक सेमिफाइनलमा स्थान बनाउँदै इतिहास बनाइसकेको लाइपजिग पीएसजीलाई पनि स्तब्ध बनाउँदै फाइनल पुग्न चाहन्छ । उता कतारी व्यापारीको लगानी रहेको विश्वकै उत्कृष्ट खेलाडी नेमार, किलियन एमबाप्पे जस्ता स्टार रहेको पीएसजी जुनसुकै हालतमा फाइनल पुग्न चाहन्छ ।
करौडौं रकम खर्च गर्दा पनि पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । त्यसैले यो पटक उसको लागि राम्रो अवसर छ । फ्रेन्च फुटबलमा पछिल्लो समय एकछत्ररुपमा राज गरेको पीएसजी युरोपियन प्रतियोगितामा भने उस्तै छैन ।
युरोपियन च्याम्पियन्स लिगकै इतिहासमा पहिलो पटक सेमिफाइनलमा इंग्ल्याण्ड स्पेन र इटलीका कुनै क्लब छैनन् । यसपटक सेमिफाइनल पुगेका चार मध्ये दुई जर्मनी र दुई फ्रान्सका क्लब छन् । अर्को सेमिफाइनल पनि जर्मन भर्सेस फ्रेन्च अर्थात बायर्न म्युनिख र लियोन बीच हुनेछ ।
पीएसजीले अन्तिम समयमा दुई गोल गर्दै क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टालाई २(१ ले पराजित गरेको थियो । उता एट्लेटिकोलाई स्तब्ध बनाएको लाइपजिगलाई हराउनु पीएसजीको लागि पनि त्यति सहज भने छैन ।
पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुग्ने लक्ष्यमा रहेको यी दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । स्टार र नाम चलेका खेलाडीको हिसाबले पीएसजी लाइपजिगभन्दा अघि छ । तर न्युट्रल मैदान अनी बिना दर्शक खेल्नुपर्ने अवस्थामा कुनै टिमले पनि विपक्षीलाई कमजोर आँकन् मिल्ने छैन ।
चोटबाट पुनरागमन गर्दै एटलान्टाविरुद्ध मैदान उत्रिएका एमबाप्पेको आगमनले पनि पीएसजीलाई थप फाइदा पुग्ने पक्का छ । गोलकिपर केइलर नाभास भने चवटका कारण लाइपजिगविरुद्ध खेल्ने छैनन् । उनकव स्थानमा सर्जि रिकोले खेल्नेछन् ।
FACEBOOK COMMENTS