काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदका नाममा नक्कली बिल बनाई रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सह–लेखापाल बिर्षसिहं सुनार र नेपालगञ्जस्थित आर्यन फार्माका सञ्चालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
गाउँपालिकाको स्वास्थ्य शाखाका लागि औषधि तथा उपकरण खरिद गर्दा मिलेमतोमा खरिद नै नगरिएका सामग्रीको समेत विल बनाएको र वास्तविक बिलको अंक सच्याएर लाखौं रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा १२ सय रुपैयाँको बिललाई सच्याएर ९२ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ। बागेश्वरी सर्जिकलबाट १ हजार २ सय रुपैयाँको सामान खरिद गरिएकोमा त्यसलाई सच्याएर ९२ हजार रुपैयाँ बनाइएको थियो।
यस्तै, एलाइड प्याथोक्याम एण्ड सर्जिकलको १ हजार ३ सय ५० रुपैयाँको बिलमा अंक थपेर १ लाख १ हजार ३ सय ५० रुपैयाँ भुक्तानी लिएको भेटिएको छ।
यसबाहेक नक्कली ढुवानी बिल बनाएको र एउटा औषधिको सट्टा अर्कै सामग्री बिक्री गरेको देखाई झुटो बिल पेश गरेको पनि पुष्टि भएको छ। अख्तियारले उनीहरूले कुल १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ।

आयोगले चारै जना प्रतिवादीसँग जनही १ लाख ९१ हजार ८ सय ५० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

FACEBOOK COMMENTS