काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनालाई गम्भीरतापुर्वक लिएको बताएको छ । शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लंघनकर्ताहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताएका हुन् । भट्टराईले जिल्ला तहबाटै उजुरी लिने र फर्स्यौट गर्ने काम भइरहेकाले केन्द्रमा उजुरीको क्रम घटेको जानकारी दिए ।
आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटा बाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ । भट्टराईकाअनुसार प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ । फागुन २१ गते हुने निर्वाचनका लागि ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।
२- जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालमा भ्रामक समाचार र तस्बिर फैलाएको भन्दै कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । झापाको क्षेत्र नम्बर ५ स्थित कमल गाउँपालिका-२ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहको सम्पर्क कार्यालयमा सामान्य क्षति भएको विषयलाई एआईको प्रयोग गरेर भ्रामक समाचार र तस्बीर प्रकाशित गरेको भन्दै प्रशासनले त्यस्ता गलत सूचना फैलाउने व्यक्ति र समूहको पहिचान गरिरहेको र कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो ।
प्रशासनले अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गर्दा एउटा झ्यालको सिसा मात्र फुटेकोमा कार्यालय ध्वस्त भएको तस्बीर बनाएर प्रकाशित गरिएको भन्दै यस घटनाको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।

३- सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

उक्त आदेशविरुद्ध सर्वोच्चमा रिट दायर अधिकारीले रिट दायर गरेका थिए । अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

४- पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूले घटनाको पुष्टि गर्दै आक्रमणको कडा निन्दा गरेका छन् । प्रहरीका अनुसार फिटना अल–ख्वारिजसँग सम्बन्धित आतंककारीले तारलाईस्थित इमामबारगाह खादिजत उल कुब्रामाथि आक्रमण गरेका हुन् । मस्जिदको प्रवेशद्वारमा रोक्न खोज्दा आतंककारीले गोली चलाएको र त्यसपछि भित्र पसेर प्रार्थनाका क्रममा आत्मघाती विस्फोट गराएको जियो न्यूजले उल्लेख गरेको छ ।

विस्फोटपछि सुरक्षाकर्मीले क्षेत्र घेराबन्दी गरी उद्धार कार्य सुरु गरेका थिए । घाइतेहरूलाई इस्लामाबाद र रावलपिण्डीका विभिन्न अस्पतालमा सारिएको छ । अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ । घटनाप्रति राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शेहबाज शरीफले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

५- नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार डंगोललाई निमित्त प्रबन्ध निर्देशक तोकिएको हो । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् । उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी थिइन् ।
उनी २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् र प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवम् वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पुरा गरिसकेकी छन् । उनी हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत रहेकी थिइन् । पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताएकी छन् ।
६- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शनिबारदेखि शुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि चर्चित तथा अनुभवी कमेन्टेटरहरूको घोषणा गरेको छ । विश्वभरका दर्शकलाई लक्षित गर्दै आइसीसीले प्यानल तयार गरिएको जानकारी दिएको छ । आईसीसीले भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि सुरु हुने प्रतियोगिताका क्रममा आईसीसी.टीभीमार्फत पूर्व महान् खेलाडी तथा वर्तमान स्टार खेलाडीहरूको कमेन्ट्री रहने जानकारी दिएको छ । टी–२० विश्वकपको १०औँ संस्करणअन्तर्गत ५५ खेल खेलाइनेछन् भने मार्च ८ मा फाइनल हुनेछ ।
आईसीसीका अनुसार सबै प्रसारण साझेदारलाई एउटै विश्वस्तरीय ‘वर्ल्ड फिड’ सेवामार्फत कमेन्ट्री उपलब्ध गराइनेछ, जसले सबै बजारमा समान र उच्च गुणस्तरको कभरेज सुनिश्चित गर्नेछ । कमेन्टेटरको सूचीमा रवि शास्त्री, नासेर हुसेन, इयान स्मिथ, इयान बिशप, आरोन फिन्च, दिनेश कार्तिक, कुमार संगाकारा, शमूएल बद्री, रोबिन उथप्पा, कार्लोस ब्राथवेट, इयोन मोर्गन, वसीम अक्रम, सुनील गावस्कर, म्याथ्यू हेडेन, रमिज राजा, डेल स्टेन, माइकल एथर्टन, वकार युनिस, साइमन डौल, शन पोलक, केटी मार्टिन, हर्षा भोगले, एमपुमेलेलो एमबांगवा, नताली जर्मनोस, ड्यानी मोरिसन, एलन विल्किन्स, इयान वार्ड, मार्क हावर्ड, निक नाइट, अथर अली खान, कास नायडू, बाजिद खान, रौनक कपूर, नियाल ओब्रायन, प्रेस्टन मोमसेन, एन्ड्रयू लियोनार्ड, रसेल अर्नोल्ड, रोशन अबेसिंघे, एन्जेलो म्याथ्यूज र टेम्बा बाभुमा समावेश छन्। आईसीसी.टीभीको प्रसारणमा प्रि–म्याच कार्यक्रम, इनिङ्स ब्रेक विश्लेषण, पोस्ट–म्याच समीक्षा तथा दैनिक हाइलाइट्स समावेश गरिनेछ, जसले नकआउट चरणसम्मका सबै गतिविधि समेट्ने आईसीसीले जनाएको छ ।
आईसीसीले यो कमेन्ट्री टोली प्रतियोगिताको विश्वव्यापी स्वरूप झल्काउने र क्रिकेटप्रेमीको अवलोकन अनुभवलाई अझ उत्कृष्ट बनाउने लक्ष्यका साथ चयन गरिएको जनाएको छ ।
७- भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपिओ माघ २७ गते मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइपिओ आगामी मंगलबार बाँडफाँड हुने जानकारी दिएको हो । यहि माघ १२ गतेदेखि १५ गतेसम्म खुला गरिएको आइपिओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो आइपिओ ८३ हजार जनालाई लक्की ड्रबाट १०-१० कित्ता शेयर पर्ने छ । जस अनुसार २५ लाख ८२ हजार १७४ जना लगानीकर्ताको हात खाली हुने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ ।
८- रुसको राजधानी मस्कोमा रुसी उच्चपदस्थ सैनिक अधिकारीमाथि गोली प्रहार भएको छ । रुसी मिडियाका अनुसार लेफ्टिनेन्ट जनरल भ्लादिमिर आलेक्सेयेभमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् । मस्कोको भोलोकोलाम्स्कोये हाइवेस्थित एक आवासीय भवनभित्र आलेक्सेयेभमाथि धेरै राउन्ड गोली प्रहार गरिएको र आक्रमणकारी घटनास्थलबाट फरार भएको बताइएको छ ।
गोली लागेका जनरल आलेक्सेयेभलाई तत्काल मस्कोको एक सहर अस्पतालमा भर्ना गरिएको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार उनी हाल सघन उपचार कक्ष (आईसीयू) मा छन् र उनको अवस्था गम्भीर रहेको छ । सन् २०२५ मा अमेरिकी कांग्रेसनल रिसर्च सर्भिसले प्रकाशित गरेको प्रतिवेदनअनुसार भ्लादिमिर आलेक्सेयेभ रुसको मुख्य गुप्तचर निकाय जीआरयूका प्रथम उपप्रमुख हुन् ।
९- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । शुक्रबार प्रसाईलाई काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरिएको हो । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले कारवाहीको पत्र पठाएपछि पक्राउ गरेको बुझिएको छ । प्रसाई यस अघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
१०- ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन् । शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले संघीय सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका ब्यहोर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या हुन नदिने बताउदै भने- ‘पाटन अस्पतालकै सुझाव र सल्लाह बमोजिमको फ्यासालिटीहरु इन्स्टल गरेको एउटा अर्को स्वास्थ्य केन्द्र बनाइरहेका छौँ । निकट भविष्यमै खोल्न गइरहेका छौँ । त्यो खोलिसकेपछिको अवस्थामा राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले धेरै राम्रो सेवा प्रवाह गर्न सक्छौँ । पाटन हस्पिटललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुहोस् ।
कथं कदाचित नेपाल सरकारले अहिलेको निमित्त ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनु भनेर नेपाल सरकारले एउटा पत्र दियो भने म चाहीँ भुक्तानी गरिदिन्छु । जे पर्ला पर्ला।’ संघीय सरकारले बीमाको शुल्क अस्पताहरुलाई तिर्न नसक्दा सेवा प्रभावित हुन थालेको छ। कतिपय अस्पतालहरुले बीमा कार्यक्रम नै बन्द गरेका छन् । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमको रकम सुनिश्चित नभएपछि यस अघि दिदै आएको एक लाखसम्मको सीमालाई घटाएर फागुन १ गतेदेखि २५ हजार गरेको छ ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा पार्टीको उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन दिएका छन् ।
उनले भनेका छन्- ‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं ।’ बिहीबार दिउँसो रौतहट-२ बाट प्रतिनिधि सभामा रास्वपाका उमेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका-४ मठियाकी चार वर्षिया अल्फा खातुनको मृत्यु भएको थियो ।
१२- नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेस राष्ट्रिय शक्ति भएको बताएका छन् । पोखरामा काँग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसको इतिहासले राष्ट्रिय शक्तिको जिम्मेवारी रहेको बताउदै देशमा संकटमा परेको अवस्था यसको नेतृत्व गरेर सम्हाल्ने काम भएको बताएका हुन् । उनले राष्ट्रिय दल निर्वाचनले तय गर्ने भएपनि राष्ट्रिय शक्ति इतिहासले तय गर्ने बताए ।
आज काँग्रेसले राष्ट्रिय शक्तिको जिम्मेवारी निभाउने जिम्मेवारी रहेको बताए । उनले भने- ‘राज्यका संस्थाहरुप्रति चरम अविश्वास रहेको छ । यो अविश्वास झाँगिदै गएर सिंगो देशमा अविश्वास बढेको छ । अब यसलाई सम्हाल्ने जिम्मेवारी हाम्रो हो ।’ भदौ २४ गते देश बलेको र अर्को बर्षको भदौ २४ गते देश बल्दैन भन्ने जिम्मा काँग्रेसले लिने बताए । उनले काँग्रेसले प्रतिशोधको राजनीति नगर्ने भन्दै काँग्रेसको चरित्र मिलाउने र सम्हाल्ने भएको उल्लेख गरे । अहिले देश सम्हाल्ने शक्ति चाहिएको भन्दै, आगो जसले पनि लगाउन सक्ने भन्दै आगो निभाउन धैर्यता चाहिने बताए ।
सभापति थापाले अहिले नागरिकले देशलाई सम्हाल्ने र सुधारको काम गर्ने दल र नेतृत्व खोजेको भन्दै काँग्रेसले सम्हाल्ने र सुधार्ने दुवै काम गर्न सक्ने र गर्ने धारणा राखे । उनले व्यक्तिले ‘जादुको छडी’ गर्छ भन्ने कुरामा आफुले विश्वास नगर्ने भन्दै काँग्रेसले संस्थाहरु बलियो बनाउने, प्रणाली बलियो बनाउने र सरकारले दिने डेलिभेरी राम्रो बनाउने कुरा मतदातालाई घर घरमा गएर भन्नु पर्ने बताए । सभापति थापाले निर्वाचन सकिएपछि देशभरका कार्यकर्तासँग छलफल गरेर पार्टीको नियमित अधिवेशन गर्ने बताउदै कसैलाई काखा र पाखा नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
१३- इङल्याण्डका टेस्ट कप्तान बेन स्टोक्स घाइते भएका छन् । मैदानमा प्रशिक्षणको क्रममा तीव्र गतिमा बल उनको अनुहारमा लाग्यो र उनलाई गम्भीर चोट लागेको छ । स्टोक्सले सामाजिक सञ्जालमा सार्बजनिक गरेको तस्बिरमा उनको अनुहारमा गम्भीर चोट लागेको देख्न सकिन्छ । उनको दाहिने आँखा पूर्ण रूपमा सुन्निएको र कालो भएको छ । उनको गाला र ओठमा गहिरो घाउ छ र रगत बगेको कारण उनको नाकमा पट्टी लगाइएको छ ।
उनले शेयर गरेको तस्बिरको क्याप्सन क्रिकेट बलको अवस्था हेर्नुपर्छ भन्ने लेखेका छन् । यो तस्बिर सामाजिक सञ्जालमा आएपछि, क्रिकेट जगत स्तब्ध भएको छ । विश्वभरका फ्यानहरूले टिप्पणी खण्डमा उनको छिटो निको हुने कामना गरिरहेका छन् । यद्यपि, चोट कति गम्भीर छ र उनलाई शल्यक्रिया आवश्यक पर्नेछ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ४२ सयले घटेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७० रुपैयाँले घटेर तोलाको ४७१० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४९८० मा कारोबार भएको थियो ।
१५- आज दुई नेपाली फिल्म रिलिज भएका छन् । आज रिलिज हुने फिल्ममा ‘कुमारी’ र ‘रमिताको पिरती’ रहेका छन् । दिनेश राउतले निर्देशन गरेको फिल्म ‘कुमारी’मा प्रमुख भूमिकामा अभिषेक खड्का र आकृति राजभण्डारी छन् । प्रेममा आउने आरोह अवरोधको कथामा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । यसमा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।
सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाए पनि फिल्मलाई बलिवुड फिल्म ‘सैयारा’ को कपिको ट्याग लागेको छ । तर निर्देशक राउतले यसलाई सतही टिप्पणी भनेर खारेज गरेका छन् । उनले फिल्मको कथा निकै फरक भएको र फिल्म हेरेपछि त्यो भ्रम हट्ने बताएका छन् । त्यस्तै आज रिलिज भएको अर्को फिल्म ‘रमिताको पिरती’ सुदेप्ताको निर्देशनमा बनेको हो । उनको यो डेब्यू फिल्म हो । यस फिल्मकी कार्यकारी निर्मातामा अभिनेत्री आना शर्मा रहेकी छन् । यस फिल्ममा आनासहित धिरज मगर, विनय श्रेष्ठ र समीर श्रेष्ठ मुख्य भूमिका रहेको छ । युवा प्रेमकथामा आधारित यो फिल्ममा अन्य कलाकारहरुमा पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायतको अभिनय छ । यही फिल्मबाट गायक समीरले पनि अभिनयमा डेब्यू गर्दैछन् । फिल्म प्रेममा धोका पाएपछि युवतीले आफैसँग गर्ने संघर्षको कथामा आधारित रहेको छ ।
१६- बैतडीमा बिहीवार राति जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप पाँच जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा अस्पताल र पुर्चौडीकै कोटीला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीवार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७ को बडगाउँ मोडमा दुर्घटनामा परेको थियो । बेहुला बेहुली अर्को जीपमा रहेकाले सकुशल रहेका प्रहरीले जानकारी दिएको छ ।
१७- रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले भारतमा जारी वुमन्स प्रिमियर लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा आरसीबीले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो । दिल्लीले दिएको २०४ रनको लक्ष्य पछाएको आरसीबीले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आरसीबीको जितमा कप्तान स्मृति मन्धानाले ८७ रन बनाएकी थिइन् भने गर्जिया भोलले ७९ रन बनाएकी थिइन् ।
यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २०३ रन बनाएको थियो । भारतीय क्रिकेट बोर्डले संचालन गरेको महिला प्रिमियर लिगको यो चौथो सिजन हो । आरसीवीले यस अघि २०२४ मा यो उपाधि जितेको थियो । त्यस्तै मुम्बई इण्डियन्सले २०२३ र २०२५ मा यो उपाधि जितेको छ । त्यसैगरी दिल्ली क्यापिटल्स भने चारै सिजनमा उपविजेता बनेको छ ।
१८- इरानी विदेशमन्त्री सय्यद अब्बास अरघची ओमान पुगेका छन् । उनले आज, शुक्रबार, राजधानी मस्कटमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरेसम्म इरानविरुद्ध सैन्य कारबाही गर्ने धम्की दिइरहेका छन् । इरानले आणविक मुद्दामा छलफल गर्न इच्छुक रहेको बताएको छ, तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरूमा वार्ता गर्ने छैन । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले सम्झौतामा पुग्न सकिन्छ कि भनेर हेर्न इरानी अधिकारीहरूसँगको वार्ताको निगरानी गरिरहेको बताएकी छिन् ।
१९- बलिवुड फिल्ममा आफ्नो हास्य शैलीले दर्शकहरूलाई हँसाउने अभिनेता राजपाल यादव कानुनी समस्यामा फसेका छन् । यो मुद्दा वर्षौं पुरानो हो, तर अब, दिल्ली उच्च अदालतको कडाइ पछि, उनले बिहीबार तिहाड जेलमा आत्मसमर्पण गरेका छन् । यो मुद्दा राजपाल यादवको फिल्म ‘आता पता लपता’ सँग जोडिएको छ, जसमा राजपालले निर्देशनमा डेब्यू गरेका थिए । यद्यपि, केही अप्रत्याशित घटना भयो जसले गर्दा उनलाई तिहार जेलमा कैद गरिएको छ । राजपालको यो फिल्म २०१० मा रिलिज भएको थियो । फिल्म ‘आता पता लपता’ बनाउन मुरगली प्रोजेक्ट प्राइभेट लिमिटेड नामक कम्पनीबाट पाँच करोड रुपैयाँ ऋण लिएका थिए । यो फिल्म बक्स अफिसमा असफल भयो। राजपाल यादवले आर्थिक नोक्सानी बेहोरे ।
उनले कम्पनीको ऋण तिर्न असमर्थ थिए । यसपछि ऋण तिर्न जारी गरेका सबै चेक बाउन्स भएको आरोप लगाउँदै कम्पनीले राजपाल यादवविरुद्ध मुद्दा दायर गर्यो । तल्लो अदालतले राजपाल यादवलाई चेक बाउन्स मुद्दामा दोषी ठहर गर्दै छ महिनाको जेल सजाय सुनाएको थियो । मुद्दा उच्च अदालतमा पुग्दा, उच्च अदालतले सुरुमा अभिनेताको सजायलाई केही समयको लागि निलम्बन गर्यो, तर उनले कम्पनीलाई पैसा फिर्ता गर्ने शर्त राख्यो । राजपालले अदालतमा धेरै पटक वाचा गरे तर पनि उनले पैसा नतिरेपछि अदालतले उनको व्यवहार अत्यन्तै अनुपयुक्त रहेको र उनले अदालतको विश्वास तोडेको बताएको थियो ।
अदालतमा धेरै सम्झौताहरू भएपनि र राजपाल यादवले बारम्बार पैसा तिर्न वाचा पनि गरे । यद्यपि, उनले समयमै तिर्न सकेनन् । अदालतले उनलाई धेरै अवसरहरू दियो, तर प्रत्येक पटक उनले आफ्नो वाचा तोडेका थिए । फेब्रुअरी २ मा, न्यायाधीश स्वरण कान्त शर्माले कडा अडान लिँदै थप राहत दिन नसकिने घोषणा गरे । फेब्रुअरी २, २०२६ मा, उच्च अदालतले राजपाल यादवलाई बुधबार, फेब्रुअरी ४, २०२६ मा आत्मसमर्पण गर्न आदेश दियो ।
२०- यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य रहेका छन् । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य-सचिव रहेका छन् । निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ ।
बैठकमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ हाम्रा लागि एकदमै महत्त्वपूर्ण रहेको बताउदै सबै आन्दोलन र नेपाली जनताले गरेको बलिदानी र त्यसबाट भएका उपलब्धिको प्रतीक यो दिन भएको बताएकी थिइन् । उच्च अदालतको निर्देशनको बाबजुद, राजपाल यादवले फेब्रुअरी ४ मा आत्मसमर्पण गरेनन् । उनले मुद्दामा म्याद थपको लागि पनि अनुरोध गरे, तर अदालतले उनको निवेदन अस्वीकार गर्यो । उच्च अदालतको कडाई र कुनै पनि म्याद थप नदिएपछि, राजपाल यादवले अन्ततः बिहीबार तिहाड जेलमा आत्मसमर्पण गरेका छन् ।
FACEBOOK COMMENTS