काठमाडौँ । एपस्टाइन प्रकरणसँग सम्बन्धित नयाँ खुलासापछि बेलायतका राजा चाल्र्स तृतीयले पहिलोपटक प्रतिक्रिया दिएका छन् ।
उनका भाइ एन्ड्र्यू माउन्टब्याटन विन्डसरविरुद्ध उठेका आरोपबारे अनुसन्धान गर्न प्रहरीले अनुरोध गरेमा बकिङ्घम प्यालेस सहयोग गर्न तयार रहेको उनले बताएका हुन् ।
प्यालेसका प्रवक्ताका अनुसार, राजाले एन्ड्र्यूसम्बन्धी आरोपहरूप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् र पीडितहरूप्रति सहानुभूति प्रकट गरेका छन् । यद्यपि आरोपहरूको जवाफ एन्ड्र्यूले नै दिनुपर्ने स्पष्ट गरिएको छ ।
हालै सार्वजनिक एपस्टाइन फाइलहरूमा एन्ड्र्यूले गोप्य भ्रमण प्रतिवेदन र लगानीसम्बन्धी जानकारी एपस्टाइनलाई पठाएको देखिन्छ। एन्ड्र्यूले सबै आरोप अस्वीकार गर्दै आएका छन् र फाइलमा नाम आउनु मात्र दुराचारको प्रमाण नहुने बताइएको छ ।
यसैबीच सोमबार राजा चाल्र्स क्लिथेरो भ्रमणमा रहँदा एक व्यक्तिले ’एन्ड्र्यूबारे तपाईंलाई कहिलेदेखि थाहा थियो ?’ भनेर प्रश्न गरेका थिए । उक्त व्यक्तिलाई भीडले हुटिङ गरेको थियो ।

बकिङ्घम प्यालेसको यो वक्तव्य यसअघि प्रिन्स तथा प्रिन्सेस अफ वेल्सका प्रवक्ताबाट आएको वक्तव्यपछि आएको हो, जसमा उनीहरूले एपस्टाइनसम्बन्धी पछिल्ला खुलासाप्रति गहिरो चिन्ता व्यक्त गर्दै पीडितहरूप्रति ध्यान केन्द्रित रहेको बताएका थिए ।

गत साता एन्ड्र्यूलाई यस अघि भनिएको भन्दा छिटो विन्डसरस्थित रोयल लजबाट राजाको निजी सम्पत्ति स्यान्ड्रिङ्घममा सारिएको थियो । सन् २०२५ अक्टोबरमा एपस्टाइनसँगको सम्बन्धबारे अघिल्लो चरणका खुलासापछि उनलाई राजकुमार र ड्युकका उपाधिबाट वञ्चित गरिएको थियो ।

FACEBOOK COMMENTS