काठमाडौँ । स्पेस एक्सका संस्थापक एलन मस्कले अब मंगल ग्रहभन्दा चन्द्रमालाई प्राथमिकतामा राख्दै त्यहाँ सहर बसाउने योजना अघि सारेका छन् ।
मंगलको तुलनामा चन्द्रमामा मानिस पठाउन सजिलो हुने भएकाले आफ्नो योजना परिवर्तन गरेको मस्कले जानकारी दिएका हुन्।
मस्कका अनुसार स्पेसएक्सले चन्द्रमामा ’आफैं बढ्ने सहर निर्माण गर्ने लक्ष्य राखेको छ, जुन १० वर्षभित्र सम्भव हुने अनुमान छ । मंगलमा सहर बसाउन भने २० वर्षभन्दा बढी समय लाग्ने उनले बताए । यद्यपि, उनको दीर्घकालीन लक्ष्य भने जीवन र चेतनालाई ग्रहहरुसम्म पुर्याउने रहेको स्पष्ट गरेका छन् ।
उनले मंगल यात्रा प्रत्येक २६ महिनामा मात्र सम्भव हुन्छ र त्यहाँ पुग्न करिब ६ महिना लाग्छ, जबकि चन्द्रमाका लागि हरेक १० दिनमा रकेट प्रक्षेपण गर्न सकिन्छ र २ दिनमै पुग्न सकिन्छ । स्पेसएक्सले मंगलमा पनि करिब ७ वर्षभित्र सहर बसाउने प्रयास सुरु गर्ने जनाएको छ ।
मस्कले मंगललाई मानव अस्तित्व जोगाउने ‘प्लान–बी’ का रूपमा व्याख्या गर्दै आएका छन् । उता नासाले भने चन्द्रमामै केन्द्रित हुँदै २०२८ सम्म अन्तरिक्षयात्रीलाई पुन: चन्द्र सतहमा पठाउने तयारी गरिरहेको छ ।

नासाको आर्टेमिस मून मिशनमा स्पेसएक्सको लुनार ल्यान्डर प्रयोग हुनेछ, जसका लागि नासाले स्पेसएक्सलाई करिब ३ अर्ब डलरको सम्झौता दिएको छ । यो ल्यान्डर हाल परीक्षण चरणमा छ । यसैबीच जेफ बेजोसको कम्पनी ब्लू ओरिजिन पनि यस्तै ल्यान्डर विकासको प्रतिस्पर्धामा रहेको छ ।
