काठमाडौं । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा रहेको एक उच्च माध्यमिक विद्यालय र एक आवासीय घरमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
क्यानडाको रोयल क्यानाडियन माउन्टेड पुलिसका अनुसार टम्बलर रिज सेकेन्डरी स्कूलमा गोलीकाण्ड हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।
प्रहरीका अनुसार घटनामा संलग्न संदिग्ध आक्रमणकारी पनि आत्मघाती चोटका कारण मृत अवस्थामा फेला परेका छन् । दुई जना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ भने करिब २५ जना सामान्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
यसै घटनासँग सम्बन्धित ठानिएको एक आवासीय घरमा थप दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । हाल प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको छ र सर्वसाधारणका लागि तत्काल कुनै खतरा नरहेको बताएको छ ।
टम्बलर रिज करिब २४ सय जनसंख्या भएको सानो सहर हो । घटनापछि उक्त सहरका विद्यालयहरू यस हप्ता बन्द गर्ने निर्णय गरिएको छ ।
FACEBOOK COMMENTS