काठमाडौँ । बंगलादेशमा १३औं राष्ट्रिय संसदीय चुनावअन्तर्गत आज देशभर मतदान हुँदैछ ।
बिहान ७ बजेदेखि सुरु हुने मतदान कडा सुरक्षाबीच सञ्चालन गरिँदैछ । यस पटकको आम चुनावमा मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र यसअघि उसको सहयोगी जमात–ए–इस्लामीबीच देखिएको छ ।
२०२४ को अक्टोबरमा भएको विद्रोहपछि पहिलो पटक निर्वाचन हुन लागेको छ । चुनावपूर्व सार्वजनिक गरिएका जनमत सर्वेक्षणहरूमा बीएनपी अग्रस्थानमा देखिएको छ । पार्टीका प्रमुख तारिक रहमान, जो १७ वर्षको निर्वासनपछि बेलायतबाट स्वदेश फर्किएका हुन्, आगामी सरकार गठनको अभियानको नेतृत्व गरिरहेका छन् ।
यस चुनावमा पुर्व प्रधानमन्त्री सेख हसिनको दल अवामी लिगलाई प्रतिबन्ध लगाइएको छ । राजधानी ढाकासहित देशभरका विद्यालय र सार्वजनिक भवनहरूलाई परम्पराअनुसार मतदान केन्द्रमा रूपान्तरण गरिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार यसपटक प्रचार अभियानमा केवल कालो–सेतो ब्यानर र पोस्टर मात्र प्रयोग गरिएको छ भने उम्मेदवारहरूले पोस्टरहरू सिधै पर्खालमा टाँस्न नपाउने नियमका कारण डोरीको सहायताले झुण्ड्याएको देखिएको छ ।
देशका ३०० सिटमध्ये २९९ सिटमा मतदान हुँदैछ। एक उम्मेदवारको निधनका कारण एक सिटमा मतदान स्थगित गरिएको छ । कुल १२ करोड ७७ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ।

मतदान सुरु हुनुअघि नै बंगलादेशको राजनीतिक वृत्तमा अर्को विषयले चर्चा पाएको छ । विश्व बैंकले चुनावभन्दा केही घण्टा अघि ढाकाका लागि ३७ करोड अमेरिकी डलर (करिब ३३.५ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग घोषणा गरेको छ । उक्त रकम ढाकाका प्रदूषित नदी तथा नाला सफा गर्न, ढल व्यवस्थापन सुधार गर्न र फोहोर व्यवस्थापन सुदृढ गर्न प्रयोग गरिने बताइएको छ ।

यति ठूलो आर्थिक सहयोगको समयलाई लिएर विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्। केही विश्लेषकहरूले यसलाई संयोग मात्र नभई मतदातालाई प्रभावित पार्ने रणनीतिक कदम हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन् भने चुनाव परिणामले बंगलादेशको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

FACEBOOK COMMENTS