काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आज झापाबाट काठमाडौं फर्किने क्रममा कैलाश हेलिकोप्टर सर्भिसेसको सेवा लिएपछि कम्पनीले खुसी व्यक्त गरेको छ ।
पूर्वराजा शाहलाई सेवा प्रदान गर्ने अवसरलाई कम्पनीले आफ्नो संस्थाप्रतिको सम्मान, श्रद्धा र गौरवको अनुपम चिनोका रूपमा लिएको कम्पनीका प्रबन्ध निर्देशक प्रताप जंग पाण्डेले बताए । ज्ञानेन्द्र शाहको उपस्थितिले आफूहरूलाई प्रेरणा, उत्साह र आत्मविश्वास प्रदान गरेको उनको भनाइ छ ।

‘हामीलाई अत्यन्तै गौरव र हर्षको अनुभूति भइरहेको छ कि आज हामीले पूर्व राजा ज्ञानेन्द्र शाहज्यूलाई कैलाश हेलिकोप्टर सर्भिसेसको तर्फबाट सेवा गर्ने सुअवसर प्राप्त गरेका छौँ,’ प्रबन्ध निर्देशक पाण्डेले भने, ‘उहाँज्यूको पावन आगमन हाम्रो लागि अमूल्य तथा ऐतिहासिक क्षण हो । यो हाम्रो संस्थाका लागि केवल एक भेट मात्र नभई, सम्मान, श्रद्धा र गौरवको अनुपम चिनो हो ।’
उनले पूर्वराजा शाहप्रति उच्च सम्मान प्रकट गर्दै, यो अविस्मरणीय क्षणलाई अमूल्य स्मृतिको रूपमा सजाएर राख्ने प्रण समेत गरेका छन् । साथै उनले पूर्व राजा शाहको सुस्वास्थ्य र दीर्घायु कामना समेत गरेका छन् ।



सन् २०१७ मा स्थापना गरिएको यो कम्पनीमा उड्डयन, बैंकिङ र पर्यटन क्षेत्रका अनुभवी व्यक्तिहरू तथा अन्य प्रतिष्ठित व्यवसायीहरू आबद्ध छन् । एअरबस कम्पनीका तीनवटा हेलिकोप्टरबाट यो कम्पनीले विशेषगरी मानव स्लिङ अपरेसन, एड्भेन्चर फ्लाइट, कार्गो स्लिङ अपरेसन, मेडिकल इभ्याकुएसन तथा उद्धार र हवाई छायाङ्कन तथा फोटोग्राफीलगायत सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।


FACEBOOK COMMENTS